काठमाडौं, पुस १९ गते । विवादका कारण नौ ओभरमा छोट्याईएको नेपाल टी–२० क्रिकेट लिगमा सोमबार काठमाडौं नाइट्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा काठमाडौंले विराटनगर सुपर किंग्सलाई ३४ रनले हरायो ।
आयोजक र फ्रेन्चाइज टोलीले पारिश्रमिक नदिएको भन्दै काठमाडौं र विराटनगरका खेलाडीले टस गर्न र खेल्न अस्वीकार गरेपछि खेल दुई घण्टा ढिलो सञ्चालन भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिातको मुख्य आयोजनाको अधिकार दिईएको सेभेन थ्री स्पोर्टसका मालिक र फ्रेन्जाइज टोलीलाई पैसा उपलब्ध गराउने जिम्मा लिएपछि खेलाडी टस गरेर खेल्न मन्जुर भएका थिए ।
काठमाडौंले दिएको ९३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर ८.५ ओभरमा सवै विकेटको क्षतिमा ५८ रनमा समेटिएको थियो । विराटनगरका लागि गौरांशु शर्माले २२ रन बनाउनुभयो । विवेक यादवले १२ र नन्दन यादवले ११ रन बनाउनुभयो । बलिङमा काठमाडौंका कमल सिंह ऐरीले तीन विकेट लिनुभयो । सुनाम गौतम र अनिल खरेलले दुई दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित नौ ओभरमा पाँच विकेटको क्षतिमा ९२ रन बनाएको थियो । काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रन बनाउनुभयो । कमलसिंह ऐरीले अविजित १४, कप्तान ज्ञानेन्द्र मल्लले १४ र एलेक्स ब्लेकले १३ रन जोड्नुभयो ।
विराटनगरका लागि नन्दन यादवले तीन, हुसेन तलत र कियोन जोसेफले एक एक विकेट लिनुभयो । जितसँगै काठमाडौंले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल सकेको काठमाडौं आठ अंकसहिथ तेस्रो स्थानमा छ । समान खेलबाट चार अंक बनाएको विराटनगर पाँचौं स्थानमा छ ।
खेल मिलेमतोको दावी
काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो भएको दावी गरिएको छ । लिगमा हरेक खेलको कमेन्ट्री गरिरहनुभएका सचिन तिम्सिनाले खेल मिलेमता भएको खुलासा गर्दै कमेन्ट्रीको काम छाडेको पनि बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत तिम्सिनाले खेल मिलेमतो भएको उल्लेख गर्नुभएको हो । ‘मैले मैदानमा धेरै यस्ता क्षण देखें । ती घटनाहरु विल्कुलै आश्चर्यजनक थिए । अहिलेसम्म नेपाली क्रिकेटमा यस्तो घटना देखिएको थिएन । नेपाली क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर म्याच फिक्सिङ गराउने क्रियाकलपा मैदानमा भईरहेको छ । टोलीमा विदेशी खेलाडीलाई कप्तान बनाएर म्यानेजरहरु नै बदनियतपूर्ण रुपमा म्याच फिक्सिङमा सक्रिय देखिएका छन,’’ तिम्सिनाले भन्नुभएको छ ।
तिम्सिनाले आफुले घटनाबारे नेपाल क्रिकेट संघ (क्यान), एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई जानकारी गराए पनि कुनै कारबाही नभएको बताउनुभएको छ । उहाँले नेपाली क्रिकेट भष्ट्राचारी र खेलमिलेमतो गर्नेको हातमा पुगेको समेत बताउनुभएको छ ।
क्यानले भारतीय कम्पनी ‘सेभेन थ्रीस्पोर्ट्स’ लाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने सम्झौता भएको छ । तर क्यानले पहिलो वर्षनै सम्झौता अनुसार पाउनु पर्ने रकम नपाएको बताईएको छ । विवादका कारण पटक पटक सर्दै आएको नेपाल टी–२० लिग जारी रहँदै थप विवादमा परेको हो ।
0
