सेयरमा लगानी सँधै फाइदा हुन्छ भन्ने होइन । कतिपय कम्पनीमा आँखा चिम्लिएर लगानी गर्दा डुबने सम्भावना हुन्छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा लगानी गर्नु जोखिम रहेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
सेयर लगानीका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा जोखिम देखिएको छ।
नेपाल धितोपत्र बोर्डले विभिन्न मापदण्डमा आधारित भएर गरेको अध्ययनका क्रममा यी ५१ कम्पनीमा तुलनात्मक रुपमा जोखिम देखिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।
सेयर बजार उच्च अंकमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ। बोर्डले भनेको छ ‘बजार सधै बढिरहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो, यस बजारमा हल्ला वा लहैलहमा लागेर लगानी गर्नु जोखिमयुक्त हुन्छ।’
बोर्डले पछिल्लो समय गरेको अध्ययनका क्रममा सूचीकृत ५१ कम्पनी बजार मूल्यको हिसावमा तुलनात्मक रुपमा जोखिमयुक्त देखिएको जनाएको छ।
एक वर्षको अवधिमा कम्पनीहरुको मूल्य वृद्धि ३ सय प्रतिशत र सोभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा यी ५१ कम्पनीमा सेयर लगानी जोखिमयुक्त रहेको बोर्डले जनाएको छ।
हेर्नुस् बोर्डको अध्ययनमा जोखिमयुक्त देखिएका कम्पनीहरु
https://drive.google.com/file/d/1Es1EG_VKHR0duLsdGMjt2g04yx6YBLAM/view

