काभ्रेपलाञ्चोक । रोशी खोलामा आएको बाढीका कारण खोलाको बिचमा फसेका पाँच जनाको उद्धार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उनीहरूको उद्धार गरेको हो ।
बिहीबार राती रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बिचमा फसेका थिए।
पाँच जना मानिस खोलाको बिचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलाबाट उनीहरूलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
सुरक्षा टोलीले ओखलढुङ्गा दुधकोशी गाउँपालिका– ४ का मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका– ५ का टिपर चालक मुस्कान तामाङ, तेमाल गाउँपालिका– ५ का निर्माण व्यवसायी सन्जय लामालाई उद्धार गरेको हो।
यसैगरी तेमाल गाउँपालिका–९ का टिपर चालक रेमन तामाङ र दोलखा भिमेश्वर नगरपालिका –९ का जेसिबी चालक समिर तामाङको उद्धार गरिएको हो ।

