काठमाण्डौं। पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले बिहिबार यस्तो आदेश दिएको हो।
‘निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवदेकलाई पक्राउ नगर्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ।’ फैसलामा छ ।
दिलभुषण पाठकले हिल्टन होटलसम्बन्धी टफटक कार्यक्रममा व्यक्त गरेका धारणा विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा देउवाका छोरा जयवीर देउवाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए ।
पाठकद्वारा सञ्चालित युट्युव च्यानल प्रेस काउन्सिलमा दर्ता नभएको पाएपछी प्रहरीको साइबर व्युरोले पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो ।
जयवीरको उजुरीपछि पाठकलाई प्रहरीले पक्राउ पुर्जी लिएर पक्राउको तयारी गरेको थियो ।
त्यसपछि पाठक अदालत गएका थिए ।

