काठमाण्डौ जिल्ला तेक्वान्दो संघद्वारा नेपाली टोलीका सात खेलाडीको बिदाइ
मलेसियाको कुचिङमा साउन १६ मा पाँच नेपाली खेलाडीको खेल प्रदर्शन
काठमाण्डौ । काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।
मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् । टोली साउन १३ गते मलेसिया जाने बताईएको छ । पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् भने महिला ५७ केजीमुनि पेरिस पाराओलिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् ।
चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट मलेसिया जाने कार्यक्रममा बताईएको छ । पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामा यो प्रतियोगिताको पनि प्रशिक्षकको भूमिका निर्बाह गर्ने बताएका छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् ।
प्रशिक्षक लामाले वरियता सुधार गर्न प्रतियोगिता महत्वपूर्ण भएको बताए । नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउदै हालसम्म १ रजत र ५ गरी ६ पदक जितेको छ । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् भने पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य जितेका छन् ।

