काठमाण्डौ । शान्ति नमुना मावि तिलोत्तमाका दुई विद्यार्थीको पौडी खेल्ने क्रममा निधन भएको छ ।
भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको हो। शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर–९, भट्टटोल निवासी चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपानेको डुबेर मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
मृतक दुबै जना रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना मावि मणिग्रामका विद्यार्थी हुन्। उनीहरु शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत थिए।
भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरुसँगै पौडी खेल्न गएका पाँच जनामध्ये शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत न्यौपाने र अर्यालको डुबेर मृत्यु भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार बालकहरु पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरु फेला परेका थियो।
दुवै जनाको शव पोष्टमार्टमका लागो भैरहवास्थित भीम अस्पतालमा राखिएको र पोष्टमार्टम गर्न तयारी भैरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी गणेश सापकोटाले बताए।
प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य तीन विद्यार्थीसित पनि सोधपुछ गरेको थियो ।
गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि नसकेपछि आफूहरु फर्केको प्रहरी अनुसन्धानका क्रममा बताएका थिए।

