काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन्।
दक्षिण कोरियाको बुसानमा भएको करिब १०० मिनेट लामो वार्तापछि ट्रम्पले भेटलाई ‘अत्यन्तै सफल’ भन्दै चीनमाथिको कर दर ५७ प्रतिशतबाट घटाएर ४७ प्रतिशत पुर्याउने घोषणा गरे।
उनका अनुसार बेइजिङले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात पुनः सुरु गर्ने र अमेरिकी सोयाबिन खरिद गर्ने सहमति जनाएको छ।
“यो भेट १० मध्ये १२ नम्बरको सफलता हो,” ट्रम्पले हाँस्दै भने।
यससँगै दुवै देशबीच व्यापार सम्झौता निकट भविष्यमा हुने सम्भावना बढेको छ।
राष्ट्रपति सीले पनि सहकार्यलाई ‘अपरिहार्य’ बताउँदै द्विपक्षीय सम्बन्ध सुधारको संकेत दिएका छन्।
बजारले वार्तालाई सकारात्मक रूपमा लिएको भए पनि विश्लेषकहरूले यो प्रगति अस्थायी हुन सक्ने चेतावनी दिएका छन्।

