काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन्। केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको स्वामित्व नलिएपछि उनीहरूले केन्द्रीय कार्यालयको तर्फबाट महाधिवेशन घोषणा गर्न लागेका हुन्।
सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग पटक–पटक छलफल भएपनि निकास ननिस्किएपछि विशेष महाधिवेशन आह्वान गर्ने निर्णयमा महामन्त्रीद्वय पुगेका हुन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न यो कदम चाल्न लागिएको विशेष महाधिवेशन पक्षधरको तर्क छ ।
महामन्त्री थापाले यसअघि नै केन्द्रीय कार्यसमितिले महाधिवेशन नबोलाए महामन्त्रीको विशेषाधिकार प्रयोग गर्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि विशेष महाधिवेशनको औपचारिक घोषणा हुन सक्ने केन्द्रीय सदस्य अजयवावु सिवाकोटीको भनाइ छ।
महामन्त्री पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गरी महाधिवेशन प्रतिनिधिहरूलाई संयुक्त रूपमा काठमाडौँ बोलाउने तयारी गरेको छ। यसका लागि आवश्यक तयारी तीव्र पारिएको छ। हिजो मात्रै महाधिवेशनका लागि आवश्यक १८ वटा समिति गठन गरिसकिएको छ भने काठमाडौँको भृकुटीमण्डपस्थित हल एक साताअघि नै बुक गरिएको छ।
यद्यपि, विशेष महाधिवेशनको पक्षमा खुलेका केही नेताहरूले हस्ताक्षर फिर्ता लिएपछि महामन्त्री पक्ष कसरी अगाडि बढ्ने भन्ने दबाबमा परेको छ। बहुमत प्रतिनिधि उपस्थित गराएर नेतृत्व परिवर्तन गराउने रणनीतिमा रहेको यो समूह बहुमत नपुगे के गर्ने भन्ने चिन्तामा छ ।
उता, कार्यसम्पादन समितिले भने आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गर्दै विशेष महाधिवेशनको औचित्य नरहेको सर्कुलर वडा कमिटीसम्म पठाएको छ। संस्थापन पक्ष राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटिरहेका बेला महामन्त्रीद्वयको कदमले कांग्रेसभित्रको आन्तरिक विवादलाई नयाँ चरणमा पुर्याउने भन्दै महामन्त्री द्वेयको आलोचनमा उत्रिएको छ।

