काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने खेल बिहान ११:१५ बजे सुरु हुनेछ।
अमेरिकासँग पहिलो खेलमा एक सय ६ रनको फराकिलो हार ब्यहोरेको नेपालका लागि आजको खेल जित्नैपर्ने बाध्यता रहेको छ। शृङ्खलाको सुरुवातमै पराजित भएकोले नेपालमाथि दबाब थपिएको छ।
मङ्गलबार राति सम्पन्न खेलमा अमेरिकाले आयोजक यूएईलाई चार विकेटले पराजित गरेको थियो। त्यससँगै अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ। लिग–२ शृङ्खलामा नेपाल र यूएईलाई पराजित गरेपछि अमेरिकाको आत्मविश्वास उच्च छ।
नेपालले घरेलु टोली यूएईलाई हराउनका लागि आज ब्याटिङ र बलिङ दुबै विभागमा सुधार गर्नुपर्ने देखिएको छ।
नेपालले यूएईसँगको आजको खेलपछि शृङ्खलाको तेस्रो खेल कात्तिक १५ गते (शनिबार) अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते (बुधबार) पुनः यूएईसँग खेल्नेछ।
हालसम्म विश्वकप लिग–२ मा नेपालले १७ खेलबाट १२ अंक जोडेको छ। समान खेल खेलेको यूएईको अंक ६ मात्र छ। अंकतालिकामा नेपाल सातौँ र यूएई आठौँ स्थानमा छन्।
२२ खेल खेलिसकेको अमेरिका भने ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ।

