काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रकुमार सोनल आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। यसका लागि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।
पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि असोज २९ गते सोनलले पाँच दलका ५६ सांसदको समर्थनमा सरकार गठन गरेका थिए।
मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सँगै जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)
को समर्थन प्राप्त छ।
त्यसैगरी सोनललाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन जनाएका छन्।
हालसम्म ५७ जना सांसद सोनलको पक्षमा रहेका छन्।
१०७ सदस्यीय मधेश प्रदेश सभामा हाल १०४ जना सांसद सक्रिय छन्। विश्वासको मतका लागि ५३ मत आवश्यक हुने भएकाले, सोनलको पक्षमा स्पष्ट बहुमत रहेको देखिन्छ। प्रदेशसभाका ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) भने विपक्षमा रहेका छन्।
यसबीच, निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमत पार्टीबाट अलग भई जनस्वराज पार्टीतर्फ लागिसकेका छन्, जसका कारण यी दुई सांसद हाल कुनै पक्षमा खुलेका छैनन्।
विश्वासको मतप्रक्रियापछि सोनल नेतृत्वको सरकार स्थायित्वमा जाँदैछ कि नयाँ राजनीतिक समीकरण बन्नेछ भन्ने विषयमा प्रदेश राजनीतिमा चासो बढेको छ।

