नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न साढे तीन बजेदेखि साढे सात बजेसम्म मतदान हुने भएको हो।
राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा मतदान हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
दोस्रो चरणमा शेरबहादुर देउवा र डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो। मतदान सकिएको केही समयमै मतगणना शुरू गर्ने र आजै नतिजा आइसक्ने संयोजक घिमिरेले बताए।

