काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको बजेट किसानमैत्री नभएको मात्र हैन, किसान विरोधी समेत रहेको बताएका छन्।
शुक्रबार संवाद डबलीमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा उपमहासचिव बस्नेतले बजेटले किसानलाई अन्याय गरेको एवम् कृषि क्षेत्रप्रति बेवास्ता गरेको दावी गरेका हुन् ।
४८औँ जुगेडी किसान संघर्ष दिवसको अवसरमा पूर्वगृहमन्त्रीसमेत रहेका नेता बस्नेतले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको रुपमा पेस भएर दुई बुँदे सहमति गरेको र त्यो कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी दिए।
उनले सरकारसँग भएको सहमति बारे कुनै गलत धारण नबनाउन समेत आग्रह गरे। “यदि ३० दिनभित्र सहमति कार्यान्वयन नगरे सरकार विरुद्ध सडक संघर्ष गर्ने बाटो खुला छ तर आशा गरौँ छिट्टै उच्चस्थतरीय छानबिन समिति बन्ने छ”, उपमहासचिव बस्नेतले भने।
बस्नेतले किसान आन्दोलनमा जनवादी क्रान्तिको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भने, “विसं २०५२ अघि भएका विभिन्न किसान आन्दोलनले सही दिशा पक्रन नसक्नुको मुख्य कारण ती सामन्तवादप्रति केन्द्रित थिएनन्, सो विषय जनयुद्धले समेट्यो र निर्णायक बन्यो।”
बस्नेतले समय क्रमसँगै सामाजिक जीवनको परिस्कृत मूल्य, मान्यता र आवश्यकताअनुसार सङ्घर्षका स्वरुप बदलिन सके मात्र किसान आन्दोलनलाई नवीन रुप दिन सकिने बताए ।

