काठमाण्डौ । न्यू डायमन्ड स्पोर्ट्स क्लब एपीएफ क्लबलाई हराउँदै नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
बुधबार हेटौंडामा भएको फाइनलमा एपीएफ क्लबलाई सोझो सेटमा हराएर न्यू डायमन्डले उपाधि जितेको हो।
खेलको पहिलो सेटमा न्यु डायमन्डले २५–१२ को सहज जित हात पारेको हो। खेलको दोस्रो सेटमा एपीएफले कमब्याकको निकै राम्रो प्रयास गर्यो। न्यु डायमन्डले दोस्रो सेटमा २५–२३ को जित निकाल्यो।
तेस्रो सेटमा कुमार राईको टिमले सुरूआतबाटै अग्रता बनाएर २५–१९ को जित हाासिल गरेको थियो । पछिल्लो डेढ महिनामा नेपालमा आयोजना भएका राष्ट्रियस्तरमा तीन महिला भलिबलमा न्यु डायमन्डले पहिलो उपाधि जितेको हो।
सन् २०७९ मा पनि न्यू डायमण्डले राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगितामा एपीएफलाई नै हराएर उपाधि जितेको थियो।
त्यसयता न्यु डायमन्डले पहिलो उपाधि जितेको हो। एपीएफले भने पछिल्ला तीन फाइनल खेलमा दोस्रो हार ब्यहोरेको छ।
पोखरामा भएको एनभीए लिगको फाइनलमा एपीएफ, पुलिससँग पराजित भएको थियो। प्रचण्ड कपमा भने उसले पुलिसलाई नै हराएर उपाधि जितेको थियो।
नेकोस कपमा व्यक्तिगत विधामा पनि न्यु डायमन्डको बर्चस्व रह्यो। स्पाइकर सुमित्रा रेग्मी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भइन्। सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो बन्दा प्रगति नाथले सेटरको अवार्ड जितिन्। प्रशिक्षकतर्फ कुमार राई उत्कृष्ट भए।
गण्डकी प्रदेशकी रिकजना बोटे उदीयमान खेलाडी, एपीएफकी स्पाइकर निरूता ठगुन्न उत्कृष्ट स्पाइकर बनिन् भने गरिमा बोहराले बेस्ट ब्लकरको अवार्ड जितिन्। पुलिसकी कोपिला राना बेस्ट सर्भर बनिन्।

