काठमाण्डौ । रौतहटमा सोमबार बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो ।
राजदेवी–८ लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाकी १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवको १५ वर्षीया छोरी राघनीकुमारी यादव र रुपा बैठाको १५ वर्षीया छोरी मौसमीकुमारी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए।
घाँस काट्नका लागि लक्ष्मीपुरबाट गौर नगरपालिका–१ कानुपट्टिस्थित भित्री सडकखण्डमा बाटोमा नजिकै रहेको पानीको खाल्टो तर्ने क्रममा डुबेर मुत्यु भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए। सोमबार बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएका थिए । जसमध्ये चार जना सकुशल पानीको खाल्टो तरेको र बाँकी तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए ।
सकुशल उद्धार हुनेहरूमा सोही लक्ष्मीपुर गाउँकी उमेश रामको १५ वर्षीया छोरी मुस्कानकुमारी राम, बिपत बैठाको छोरी १३ वर्षीया मुस्कानकुमारी बैठा, दिनेश रामको छोरी १० वर्षीया चन्द्रमुखीकुमारी राम र जोधन बैठाको १५ वर्षीया छोरी सुनिताकुमारी बैठा रहेको उनले जानकारी दिए ।
बालिकाहरू पोखरीमा डुबेर बेपत्ता भएपछि भन्सार सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक गोपाल सहनी गोढीको नेतृत्वमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको नेतृत्वमा ११ जना र वीर दल गण पुरेनवा ब्यारेकबाट मेजरको नेतृत्वमा १९ जनाको टोलीले बेपत्ता बालिकाहरूको उद्धार गरेको समेत उनले बताए।
उद्धारपछि बालिकाहरूको उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा चिकित्सकहरूले परीक्षण गर्दा तीनैजना बालिकाकलाई मृत घोषणा गरेको महतोले जानकारी दिए ।
केही दिन अगाडि पनि रौतहटको देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

