काठमाडौँ । मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण आज देशका धेरैजसो पहाडी क्षेत्रहरूमा मौसम बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशका अधिकांश पहाडी भू–भागमा बदली रहने र वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले उच्च पहाडी र हिमाली क्षेत्रमा तापक्रम घट्ने भएकाले स्थानीय बासिन्दा र पर्यटकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

