काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमै जाने भन्ने विवाद चर्कँदै गएको बेला संस्थापन पक्षले आज आफ्ना केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ।
पार्टीभित्र विकसित पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक विवादबारे छलफल तथा सल्लाह गर्न बिहान १० बजे काठमाडौँको आनन्दभूमि पार्टी प्यालेसमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको हो।
यसअघि बिहीबार संस्थापन पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। सो भेटपछि आफ्नै समूहका केन्द्रीय सदस्यहरूलाई औपचारिक रूपमा भेला गराउने निर्णय गरिएको हो।
भेलामा महाधिवेशनको प्रकृति, समय र पार्टीको आगामी रणनीतिबारे गम्भीर छलफल हुने संस्थापन पक्षका नेताहरूले बताएका छन्।
उता, विशेष महाधिवेशन पक्षमा खुलेका काँग्रेस महामन्त्री द्वेय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७/२८ गते काठमाण्डौको भृकुटिमण्डपमा विशेष महाधिवेशन बोलाएका छन् । विशेष महाधिवेशनका लागि १८ विभिन्न समिति गठन गर्दै भृकुटिमण्डप हल समेत बुक गरेपछि अब कसरी अघि बढ्ने भन्नेमा संस्थापन पक्ष निश्कर्षहीन छ ।

