काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएको वर्तमान संकट समाधानका लागि सबै राष्ट्रिय शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक समेत रहेका उनले ‘जनयुद्ध दिवस’को अवसरमा शुभकामना सन्देश दिँदै फागुन २१ मा हुने निर्वाचनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ या सुरु गर्नुपर्ने आवश्यकता औंल्याए।
रुकुम पूर्वमा रहेका उनले सहिदका सपना साकार पार्ने र रुकुम–रोल्पा जस्ता जनयुद्धका आधार क्षेत्रले खेलेको ऐतिहासिक भूमिकालाई पुनः देशभर स्थापित गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने बताए। नयाँ समाजवादी अभियानलाई अगाडि बढाउने संकल्पसहित आफू रुकुम पुगेको पनि उनले उल्लेख गरे।
देशको राजनीतिक परिस्थिति नयाँ मोडमा पुगेको भन्दै दाहालले ‘जेन–जी आन्दोलन’ र त्यसपछिका घटनाक्रमले राष्ट्रलाई कठिन अवस्थामा पुर्याएको बताए। यस्तो चुनौतीपूर्ण अवस्थामा जनयुद्ध दिवस मनाउनुपरेको उल्लेख गर्दै उनले रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारका रूपमा उपस्थित भएर दिवस मनाउनु आफ्ना लागि गर्व र जिम्मेवारी दुवै भएको बताए।

