काठमाडौं, मङ्सिर २४ गते । निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० वर्ष बनाउने विषयमा छलफल भए पनि यसले पूर्णता पाउन सकेको छैन । अहिलेको अवकाश पाउने उमेर हद ५८ बाट बढाएर ६० वर्ष बनाउने तयारी छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्याउने निर्णय गरेर प्रतिनिधि सभामा प्रतिवेदन पेश गरेको छ । तर संसद पटक–पटक अवरुद्ध हुँदा यस विषयमा कुनै निर्णय हुनसकेको छैन ।
कर्मचारीको आधिकारिक ट्रेड युनियनले पनि उमेर हद ६० वर्ष पुर्याउन लबिङ् गर्दै आएका छन् । नेपालीको औषत आयु र काम गर्ने क्षमता पहिलेभन्दा बढेकाले कर्मचारीको उमेर हद ६० वर्ष बनाए मुलुकलाई फाइदा पुग्ने युनियनका कार्यवाहक अध्यक्ष भोलाप्रसाद पोखरेलले बताए।
‘निजामती सेवाबाहेक अन्य सेवामा उमेर हद ६० छ । न्याय सेवातर्फ याे उमेरभन्दा बढी छ । एकरुपता ल्याउन पनि निजामतीतर्फ पनि ६० वर्ष राख्नुपर्छ,’ उनले भने ।
