स्वयम्भू शाक्य
यो जगत्मा जे जस्तो सम्बन्ध भए पनि प्राणीहरूका लागि विच्छेद एउटा ठूलो वियोग हो । कतै सम्बन्धमा क्रमभङ्ग भएर अलगिएर बस्नु हो । नाता र साइनोलाई छिन्न भिन्न पारेर अलग्याउनु हो । त्यसैले हिजोको सम्बन्ध आज विच्छेदमा परेर मान्छेको मन टुक्रा–टुक्रा हुनु स्वभाविकै हो । जीवनमा विछोड भएर तहस नहस हुनु स्वभाविकै हो । मायामा आगो लागे पछि मनमा विभिन्न कुराहरू खेलेपछि, वारीले पारीलाई हेला गरेपछि, किनारमा छिया छिया भए पछि, एउटाले अर्कोलाई हेर्न मन नलागेपछि माया कहाँ हुन्छ र ? सम्बन्ध टुक्रिनु बाहेक अरु के हुन सक्छ र ? त्यसैले विच्छेद डरलाग्दो कुरो हो । घृणैं घृणाको भन्डार हो । एकले अर्कोलाई अहित चिताउने कार्य हो । मनमा पापै पापको जन्म हुने थलो हो । तहस–नहस नभएसम्म आँखाले नदेख्ने योग हो ।
हामीलाई थाहा छ । छल–कपट र निष्ठुरीलाई यो संसारमा चाहेर पनि कसैले सम्बन्ध गाँस्न चाहँदैन । किनकि यो त जगतको भार हो । एउटा दया र मायालाई कुल्चिएर बाँच्नेहरूका लागि मान्छेले कसरी सम्बन्ध बढाउँन सकिन्छ र ? जिउनका लागि ती पापीहरूलाई यो आत्माले कसरी साथ दिन सकिन्छ र ? त्यसैले म तिम्रो लागि भार हुन सक्छ । यो जीवन कतै टुक्रा टुक्रा भएको हेर्न चाहन्छ । अनौठो छ, सम्बन्ध कतै विच्छेदमा परिवर्तन भए पछि मान्छेको मन न हो । मन भित्र के के हुँदोरहेछ । आगो बल्न खोज्छ । हावा हुरी चल्न थाल्छ । ज्वारभाट उठ्ने गर्छ । मेघ गज्रिन खोज्छ । बिजुली चम्किन सक्छ । किन किन यो मनभित्र बाँच्न मन नलाग्न सक्छ । खडेरी भएर उब्जनी नभए पछि बाँच्नुको कुनै अर्थ नहुन सक्छ । हो, आज मन भारी छ । गाह्रो भएर यो जगत अध्यारो देखिरहेछ । मन टुटेर, मन बिग्रेर, मन भत्केर, मन अलगिएर जीउँनुको अर्थ सोधिरहेछ । सम्बन्ध विच्छेदमा को को कहाँ पर्ने हो ? मन नैं मरेपछि नाता जोड्नुको अर्थ के हुने हो ? त्यसैले माया–मायाको लागि मात्र होइन । चोखो झरनाको पानी जस्तो मीठो हुनुपर्छ । स्वच्छ अनि हरियाली भएर मुटुभित्र पलाएको हुनुपर्छ । नत्र भएर के भो ? आशैं आशामा इच्छाहरू मरेर भत्किन लागेको महलमा को कहाँ बस्न सकिन्छ र ? गुमेको कुरा पाउनका लागि जति इच्छा गरे पनि समयले कसलाई दिन सकिन्छ र ?
हो यो जीवन यस्तै यस्तै किन बितिरहन्छ । जीवनमा आगो लाग्दा मान्छे किन हा हा मात्र कराउँन खोज्छ ? कसैको भार भएर, कसैको अपमान सहेर, कसैको कसिंगर बनेर, कसैको छाँट नमिलेर आज इच्छाहरू भत्किरहेछ । बालुवाको घर सरी जताततै आशाका महलहरू पाताल भएछ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले जिन्दगीका पानाभित्र सम्बन्धले विच्छेद पनि गराउँदो रहेछ भनी विच्छेदका कथाहरू सुनाउँन खोज्दैछ । तिम्रो र मेरो हिजोसम्मको मायाका कथाहरू आज समाप्त हुँदैछ भनी बुझाउँन खोज्दैछ ।
उफ् हे जगती ! निष्ठुरी कपटी आऊ तोडौं सब नाता
म तिमीलाई भार भएछु मेरो यो जीवन हा हा
प्यार मलाई छैन कसैको तिम्रो यत्रो काखमहाँ
मेरो इच्छा गुम्स्यो भित्रै भट्क्यो आशामहल यहाँ ।
यस्तो दुःख दायी दिन कहिल्यै देख्न नपरोस् भन्नाका लागि यो घायल दिलमा मैले पहिले साँचेको थिएँ । तर आज के भो कुन्नी जुन कुरा नहुनु पर्ने हो । त्यही भैदिएपछि यो रक्ताम्य दिलमा मैले सोचेको कुरा भत्केर माटो भैसकेको छ । यो त मनको आकांक्षा न हो । अब त हाँसोले काटि देऊला भन्न मात्र बाँकी छ । किनकि मन सिमलको भूवा जस्तो उडे पछि हलुको भएर कसैको लागि तुच्छ बन्न सक्छ । साँचेर ल्याएको त्यो इच्छा पनि आज ऐना फुटे भैंm चकनाचुर भएर काम नलाग्ने भई मनमा घाऊ लाग्नु स्वभाविकै हो । त्यसैले दुःखका ती दिनहरू जति सहेर पनि भोलिका लागि केही होला कि भनेर यो मनभित्र थुप्रै पीडाहरू बोकेर आज बाँचिरहेको छु । के पाएँ, के गुमाएँ । यो त भोलिले भन्ने छ । कठिन भन्दा कठिन त्यो उकालोमा चढ्नका लागि कति दुःख कष्ट सहें । कति जीवनमा बाजी लगाएँ । कति मृत्युलाई हत्केलामा राखें । कति हरेश खाएर हिँड्न पुगें । त्यो उकालोसम्म पुग्न थुप्रै दुर्दिनहरू भोग्न पुगें । परन्तु त्यो भोगाईभित्र यौटा सच्चा सत्यता पाएँ । सत्य टुसा बनेर अंकुरिन थालेको छ । केहि दिनमै हुर्किएर अनि बिस्तारै ओइलाउँन थाल्ने छ । आखिर मान्छेको मन न हो । यो अन्तरकरण भित्र मान्छेले खोजेको र चाहेको कुरा मात्र हुन सक्दैन । त्यसैले यो दिललाई दिलासा दिएर जिउँनु नैं ठूलो कुरो हो । कालो र मैलो सबै सफा गरेर जीवनमा मुक्ती पाउनु नै ठूलो कुरो हो । तर आपूmले खोजे जस्तो सबैको दिल कहाँ सफा हुन सक्छ र ? कालो र मैलोले दिलमा बास बसे पछि अन्याय पनि न्याय बन्दो रहेछ । अरुलाई दुःख दिई आपूm खुशी बन्दोरहेछ । मानवता भन्दा बाहिर गएर, नैतिकता भन्दा पर पुगेर मानौं यौटा मान्छेभित्र दानव पनि जन्मिदो रहेछ । त्यसैले म–म भित्र बाँच्नका लागि युग कवि सिद्धिचरण श्रेष्ठले बितेका ती दुर्दिनका कुराहरू अनि इच्छा र आकांक्षाका कठिन उकालोहरू कसरी चढ्नु पर्छ भनी सिकाई रहेका छन् । मन मनग्य सेतो पार्नु पर्छ । नत्र कालो र मैलोको बास होल भनी आफ्नो भावना पोखिरहेछन् ।
दुर्दिन नभनी घायल दिलमा मैले ल्याएथें साँची
यो आकांक्षा हाँसोले अब काटुँला भनिदिन बाँकी
के पाएँ दुर्दिन त्यस्तै सन्मुख त्यै कठिन उकालो
मानिसहरूको दिलमा अझ पनि त्यस्तै नै मैला कालो ।
यो संसार सुन्तला आकारको एउटा बट्टा रहेछ । म चारकुने नमिल्दो बिर्को । त्यसैले त्यो बट्टामा नमिल्दो बिर्को कसरी लगाउँन सकिन्छ र ? सम्बन्ध भएर पनि बट्टा र बिर्कोको मेल कहाँ हुन सकिन्छ र ? यो त पश्चिमबाट सूर्य उडाउँने कुरो भो ! दिनलाई रात भने जस्तो हो । एक आपसमा सम्बन्ध भएर पनि विच्छेद भए जस्तो , आकाश र धरती एकै ठाउँमा बसे जस्तो, कस्तो कस्तो यो आँखाले देखे पनि नदेखे जस्तो , पानी नपरे पनि भूईं भिजे जस्तो बुझ्नैं नसक्ने बुझ्दा बुझ्दै पनि बुझ्न अझ कठिन हुने यो कस्तो बट्टा र बिर्को रहेछ । एकले अर्कोलाई पत्याउन नसक्ने सँगै बसेर पनि टाढा टाढा भई दिने यो कस्तो साइनो हो ? यो कस्तो नाता हो ? चाहेर पनि कदापि मेल हुन नसक्ने । नदीको किनार जस्ता,े वारी र पारी जस्ता,े सम्बन्ध विनाको सम्बन्ध जस्तो, विच्छेद भएर पनि सम्बन्ध गाँसे जस्तो यो कस्तो सम्बन्ध हो ? यो कस्तो विच्छेद हो ? सम्बन्ध विच्छेदले कोहि सुकिलो भएर हाँस्न थाल्छन् । कोहि पीडामैं मर्न खोज्छन् ।
संसार तिमी यौटा बट्टा त्यसको म नमिल्दो बिर्को
हामी दुईको मेल कदापि नहुनु नै हो कि लेखेको ?
आज कविवरको मनमा सम्बन्ध भन्दा पनि विच्छेदको कुरो किन गरे होलान् ? विच्छेद, सम्बन्ध भन्दा नराम्रो हो भनी जानी जानी आपैm नमिल्दो बिर्को बनेर किन बेमेलको कुरा किन गरे होलान् ? दुःखका दिनहरू बिताएर बाँचिएको यो जीवनमा भोलि पनि दुखै हुन्छ भने किन हिजो नै नमरेको होला ? आशै आशमा बनाएको त्यो आशामहल किन आशा टुटेर भत्के होलान् ? अनौठो छ । बुझ्न गाह्रो छ । आपूmले जानेका कुराहरू पनि अरुलाई सुनाउँन नसकिने छ । त्यसैले यो सम्बन्ध होइन विच्छेद हो । यो विच्छेद भित्रको सम्बन्ध हो । तिमी र म आज चाहेर पनि तिमी तिमै्र बाटोमा हिँड्ने छ । म मेरै बाटोमा हिँड्ने छु ।

