– केशव आचार्य (लेक्चरर, अर्थशास्त्र)
सहज जीवनयापनका लागि आवश्यक ज्ञान शिक्षा हो । समाजमा सहजरुपमा जीवन व्यतित गर्न ग्रहण गर्नुपर्ने सीप, योग्यता र दक्षताको संगालोलाई गुणस्तरीय शिक्षामा समाहित गरिएको हुन्छ । शिक्षा सकरात्मक परिवर्तनको संवाहक हो, जसले प्राकृतिक मानवलाई सामाजिक परिवेश अनुरुप जीउने कला सिकाइरहेको हुन्छ । तसर्थ देशको विकास तथा सवृद्धि उक्त देशको शैक्षिक गुणस्तरमा निर्भर गर्दछ ।
विश्वकै ठूलो देश रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले भनेका थिए, “यदि देश बचाउन चाहन्छौ भने शिक्षकलाई बचाऊ ।” त्यसैगरि अर्का प्रसिद्ध विद्धान ड्यानियल पे्रलिप्सियनले शिक्षालाई देशको सामाजिक, आर्थिक र साँस्कृतिक समृद्धिसँग जोड्दै भनेका छन् , “यदि मुलुकलाई विनास गर्नु छ भने शिक्षाको गुणस्तर घटाइदिए पुग्छ ।” मनुस्मृतिमा भनिएको छ, “आनन्दित जीवन जीउने कला ज्ञान हो यसले मानिसलाई समाजमा गर्नु हुने र गर्नु नहुने व्यवहारको ज्ञात गराउँछ ।” पौराणिक उखानहरुमा पनि सूर्य नभए दिन अध्याँरो हुन्छ, शिक्षा नभए जीवन अध्याँरो हुन्छ भनिएको पाइन्छ । वेद पुराणमा विद्धान सवत्र पुज्यते भनिएको छ । त्यसकारण मानिसको सत्चरित्रको निर्माण शैक्षिक ज्ञानको उपलब्धि हो ।
शिक्षा अनुशासित चरित्र निर्माणको आधार हो । यसले मानिसलाई समयसापेक्ष जीउने कला, प्रकृति, जीव र वनस्पतिको संरक्षण र उपयोग गर्ने सीपको विकास गर्दछ । यसै सीप भएको व्यक्तिलाई शिक्षित भनिन्छ । शिक्षित मानिसमा नयाँ सीप, कला, प्रविधि र उन्नत योजनाहरु हुन्छन् । यसैलाई सामाजिक विकासमा परिचालन गर्दा समाजको जीबनस्तर उन्नति पथमा मोडिन पुग्छ । समाजको सामाजिक विकासका सूचकहरु शिक्षाको गतिशिलतामा निर्भर रहन्छन् ।
समाजका विकृति र विसंगतिलाई कानूनले भन्दा पनि शैक्षिक अनुभूतिले निर्मूल गर्न सकिन्छ । मानवीय चेतना शैक्षिक ज्ञानले उजागर गर्दछ । जब मानिस सचेत बन्न थाल्छ, कर्तब्यको बोध हुन्छ । कर्तब्य बोधले समाजमा हुने कुनै पनि विकृतिलाई रोक्दछ ।
सामाजिक विकास एकरुपता, समन्वय, समानता, शान्ति, सुरक्षा, न्याय र स्वतन्त्रता शैक्षिक उन्नतिको प्रतिफल हो । उच्च सामाजिक परिचालन, लैङ्गिक विकास, समान अवसर, वितरण र सहअस्तित्व मार्फत चरित्रवान नागरिक, स्वच्छ र स्वस्थ समाज निर्माण हुन्छ । यसले मानिसमा खुशि र आनन्द प्रदान गरि जीवनप्रत्यासा अभिवृद्धि गर्न मद्धत गर्दछ । बलियो शैक्षिक मापदण्ड भएका मुलुकमा नयाँ प्रविधि, आर्थिक सामाजिक समृद्धि प्राप्त भएको देखिन्छ । मानवीय अनुशासन सामाजिक परिवर्तनको मेरुदण्ड भएकोले शिक्षाको गुणस्तरबाट सदाचार र सामाजिक भावना अभिप्रेरित हुन्छ । शैक्षिक गुणस्तर उच्च रहेको मुलुकमा लामो कानूनी दस्तावेजको पनि जरुरी हुदैन ।
शुरुमा शिक्षालाई ज्ञान आर्जनको माध्यम मानिन्थ्यो । आजभोली शिक्षा व्यवसायिकरण हुँदै रोजगारमूलक हुनुपर्छ भन्दै बजारमा विज्ञापन गर्न थालिएको छ । जीवनोपयोगी, रोजगारीमूलक, समयसापेक्ष, माटो सुहाउँदो जे नामबाट सम्बोधन गरिएता पनि मानवीय अन्तष्करणलाई परिवर्तन गर्न नसक्ने ज्ञानले सदाचारी समाजको निर्माण गर्न सक्दैन । देशमा विद्यमान स्रोत साधनको समुचित उपयोग, राष्ट्र र राष्ट्रियताको संरक्षण तथा समुन्नत आर्थिक अवस्था कायम गर्दा मानवीय सोचमा परिवर्तन आउँछ त्यो सोच शैक्षिक ज्ञानले निर्देशित गरिरहेको हुन्छ ।
आजका दिनसम्म आइपुग्दा नेपालको शैक्षिक गुणस्तर लगभग चक्नाचुर भैसकेको छ । जसले गर्दा हामी बाजेको पालको शिक्षा सबैभन्दा राम्रो, हामीले पढेको शिक्षा भन्दा बाउले पढेको शिक्षा राम्रो, अहिलेको भन्दा मेरो पालामा पढेकै शिक्षा राम्रो भनी शिक्षाको गुणस्तर तुलना गरिरहेका छौ । यसले वर्तमान शिक्षा प्रणालीलाई कमजोर शिक्षा प्रणालीको रुपमा पहिचान गरेको छ । समयसापेक्ष नेपालको माटो सुहाउँदो शिक्षा प्रणाली बन्न सकेन भन्ने रोइलो गर्दै विदेशी पाठ्यक्रम र प्रविधिलाई सरकारले भित्र्याइरहेको छ ।
राजा महेन्द्रको पालाको शैक्षिक गुणस्तरका मापदण्डको तुलनामा राजा बिरेन्द्रको पालाको शैक्षिक गुणस्तरका मापदण्ड कमजोर भए । वि.सं २०४६ साल पछिको प्रजातान्त्रिक शैक्षिक गुणस्तर थप कमजोर हुदै गणतान्त्रिक शैक्षिक गुणस्तर उपलब्धिहीन बन्दै गइरहेको छ । न प्राविधिक शिक्षाको बढोत्तरी छ नत सामान्य शिक्षाको स्तरोन्नति भएको छ । यसकारण नेपालको शिक्षा प्रणाली आजभोली ओल्लो घाट न पल्लो तिरको बनेको छ ।
विश्वको भाषा अंग्रेजी माध्यमबाट पढाउनु पर्छ, अंग्रेजी जान्यो भने विश्व जानिन्छ भन्ने सीमित शैक्षिक माँफियाको प्रचार प्रसारमा लाग्दा आज हामीले न राम्रो नेपाली भाषा सिक्यौ नत अंग्रेजी नै । यसले नेपालीलाई नेपाली सिक्न बाटै बञ्चित गरायो, नेपाली भाषा संरचनामै उथलपुथल सृजना गरि भाषा नै अपांङ्ग बनाइदियो ।
गुणस्तरीय शिक्षाका संवाहक शिक्षकहरुको संरक्षण हुन सकेन । शिक्षक माथि प्रहारमात्र भए सामाजिक अवस्था परिवर्तनका लागि लडेका राजनीतिक दलले नै शिक्षक बचाउन सकेनन् । विद्यार्थीकै सामू झुण्ड्याइएका शिक्षक मुक्ति अधिकारीदेखि आजसम्म धेरै शिक्षकको प्रतिशोध पूर्ण बलिदानी, सामाजिक हिंसा, अपमान आदिले शैक्षिक उपलब्धिलाई न्यूनिकरण गर्दै लग्यो । राजनीतिक दल नैतिक रुपमा पतन हुँदै गयो । राजनीतिक दलले आफ्नो पतनको बाटो आफैले खने जसका कारण आम देशभक्त नागरिकको नजरमा घृणित बन्दै गए ।
सरकारको शिक्षा नीति आफ्नो कार्यकर्ता निर्माण तर्फ उन्मुख बन्दै गयो । बार्षिक बजेटमा विनियोजन गरिएको बजेट पनि शैक्षिक गुणस्तरको योजना विहीन बजेटको थुप्रो मात्र बन्यो । विदेशी शिक्षा नीति ल्याएर थोपारियो । लेटर ग्रेडिङको अनावश्यक डंका पिट्दै बचे खुचेको गुणस्तरलाई पनि खरानी बनाइयो । जसले गर्दा शैक्षिक जवान विदेशमा पसिना बगाउन वाध्य बने । आज उनीहरुकै रगत पसिनामा होली खेल्दै सम्पति र पद जोड्न हाम्रा जनप्रतिनिधिहरु लागिरहेका छन् । सरकारमा बस्नेहरु आफ्नो व्यक्तिगत फाइदाका लागि शैक्षिक माफियाहरुलाई संरक्षण दिइरहेका छन् । शिक्षकहरु उनीहरुका कार्यकर्ता, व्यापारी चन्दादाता, वेरोजगारी युवा नारा जुलुसमा सहभागी, गरीब किसान चुनाबताकाको आश्वासनले राजनीतिक दलका पछाडि हिडिरहेका छन् ।
देशमा शैक्षिक गुणस्तरको मापदण्ड सरकारले निर्धारण गर्ने हो । यसकै आधारमा अनुगमन र नियन्त्रण गर्नु पर्दछ । तर सरकारमा निजी शिक्षा क्षेत्रका मानिसहरुको संलग्नता छ, जसका कारण सरकारी शिक्षा नीति सफल बन्न सकेको छैन । आफ्नो देशको अवस्था परिस्थिति अनुरुपको पाठ्यक्रम भन्दापनि विदेशी अनुदान सहयोगको पछि लाग्दै उनीहरुकै पाठ्यक्रमलाई प्राथामिकता दिन थालियो । शिक्षा मन्त्री र त्यस निकायसँग सम्बन्धित व्यक्तिहरुको योग्यता र क्षमता शैक्षिक गुणस्तरको आयाम मापन गर्ने आधार हुन्छ, जुन आधार पाउन सकिएको छैन ।
शैक्षिक ज्ञानबाट अनुशासन, चरित्र, सदाचार, शान्ति र आनन्द प्राप्त हुने हो । नेपालमा यि सबै न्यूनिकरण हुँदै गइरहेका छन् । सीपमूलक प्राविधिक शिक्षाको विगुल बजाउने गरिन्छ तर नैतिक र आध्यात्मिक शिक्षाको कतै नाम लिएको पाइदैन ।
वास्तवमा जीवनोपयोगी शिक्षा कस्तो हुनुपर्छ स्पष्ट हुन सकिरहेको छैन । वेलावेलामा उद्यमशिलता, रोजगारीमूलक नैतिक शिक्षा चाहियो भन्ने कुरा उठ्ने गर्छ यसमा सरकारले केही प्रयास गरेको देखिएता पनि व्यवस्थापन भने गर्न सकिरहेको छैन् । शिक्षा क्षेत्रमा विनियोजन बजेट पनि कम छ । त्यो पनि उचित व्यवस्थापन गर्न नसक्दा फ्रिज भैरहेको वा कतै दुरुपयोग भैरहेको स्थिति छ । यसलाई रोक्न सरकार अग्रसर हुनुपर्छ, नितान्त गुणस्तरीय शिक्षामा कुनै सम्झौता गरिनु हुदैन ।

