काठमाण्डौ । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेटको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि सूपरओभरबाट खेल टुंगिएको छ। पहिलो सुपरओभर, दोस्रो सुपरओभरमा बराबर भएपछि तेस्रो सुपरओभरमा नेपाल नेदरल्याण्डसित पछि परेको हो ।
टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।
१ सय ५३ रनको लक्ष्य लिएको नेपालले ८ विकेटको क्षतिमा उति नै रन बनायो र खेल बराबरीमा टुङ्गियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए।
त्यसपछि सूपरओभर भयो। सूपरओभरमा पहिले ब्याटिङ गर्दै नेपालले १ विकेट गुमाएर १९ रन बनायो। जवाफमा २० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १९ रन मात्र बनायो र बराबरी भयो।
अनि फेरि दोस्रो सूपरओभर भयो। दोस्रो सूपरओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १७ रन बनायो। जवाफी ब्याटिङ गर्दै नेपालले ६ बलमा पुनः १७ रन नै बनायो र फेरि बराबरी भयो।
तेस्रो सूपरओभरमा भने नेपालले सुरुमा ब्याटिङ गर्दै १ रन बनाउनु अगावै २ विकेट गुमायो। अर्थात् नेदरल्यान्ड्सले खेल जित्न जम्मा १ रनको लक्ष्य पायो।
जबाफी ब्याटिङ गर्दै नेदरल्यान्ड्सले १ बलमै ६ रन बनायो र खेल जित्यो।
आइतवार शृङ्खलाको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो। आज स्कटल्याण्डसँग नेपाल दोस्रो खेल खेल्ने छ ।

