काठमाण्डौ। महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखा कार्यालयबाट करिब २ करोड ८४ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा बैंकका शाखा प्रबन्धक सागर शाही, साथै निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्।
बैंकको केन्द्रीय कार्यालयले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, दार्चुलाले उनीहरूलाई पक्राउ गरेको हो। हाल उनीहरूलाई थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
बैंकको प्रारम्भिक अनुसन्धानबाट यो रकम अनलाइन जुवा ‘वान एक्स बेट’ मा प्रयोग भएको खुलेको छ, जुन नेपालमा प्रतिबन्धित छ। बैंकले रकम अपचलन भएको पुष्टि भएपछि चारै जनालाई निलम्बन गरिसकेको छ।

