काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव सक्रिय छ भने अन्य भागमा मनसुनी र स्थानीय वायु कमजोर अवस्थामा रहेका छन्।
विभागले दिएको जानकारीअनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा र गण्डकी प्रदेशका केही पश्चिमी क्षेत्रहरूमा पश्चिमी वायुको प्रभाव देखिएको छ। बाँकी भूभागमा मनसुनी गतिविधि न्यून रहेको बताइएको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने सम्भावना छ। पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
यस्तै, आज राति पनि कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहँदै एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहने अपेक्षा गरिएको छ।

