काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत आज दशरथ रंगशालामा दुई महत्वपूर्ण खेल हुँदैछन्।
पहिलो खेलमा श्रीलंकाको ट्रान्सपोर्ट युनाइटेड तथा भारतको इस्ट बंगाल आमनेसामने हुनेछन्। श्रीलंकाली क्लबका लागि यो दोस्रो खेल हो। पहिलो खेलमा पाकिस्तानको कराची सिटीसँग १–१ को बराबरीमा रोकिएको युनाइटेडलाई आज जित आवश्यक छ। साबिक विजेता इस्ट बंगालको भने यो प्रतियोगिताको पहिलो उपस्थिति हुनेछ।
दोस्रो खेलमा कराची सिटी (पाकिस्तान) र नसरिन स्पोर्ट्स क्लब (बंगलादेश)बीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।
नसरिनले पहिलो खेलमा नेपाली टोली एपीएफसँग ४–० को भारी हार व्यहोरेको थियो भने कराची सिटीले एक अंक जोडिसकेको छ।
नेपाली प्रतिनिधि एपीएफ क्लबले अबको खेल आगामी बिहीबार श्रीलंकाको ट्रान्सपोर्ट युनाइटेडसँग खेल्नेछ।
प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीमध्ये एपीएफ ४ अंकसहित अग्रस्थानमा छ।
च्याम्पियनसिपका सबै खेल राउन्ड–रोबिन ढाँचामा हुनेछन्। लिगका शीर्ष दुई टोलीले फाइनल खेल्दै उपाधि भिडन्त तय गर्नेछन्।
उपाधि विजेताले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

