२६ गते, काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको मृत्यु भएको जानकारी दिए।
‘बस क्षतविक्षप्त अवस्थामा छ। अहिलेसम्म २३ जनाको मृत्यु भएको खबर छ’, उनले भने।
मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।
कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए।
