रिसव गौतम, आर्थिक लेखक तथा विश्लेषक
पछिल्ला बर्षहरुमा नेपालमा बिमा गर्नेहरु बढ्दो छन् । कुनै समय बीमा गर्ने कुरा बढो जटिल थियो । मानिसहरुलाई बिमाबारे जति बुझाउँदा पनि बुझ्दैनथे । धेरैले बीमालाई शंकाकै नजरले हेर्थे । बिमा अभिकर्ताहरु जनमानसमा गएर बीमा गराउन नसक्दा आजित हुन्थे । हार खाएर कतिले त पेशा नै बदल्थे । तर अहिले समयले कोल्टे फेरेको छ । अवस्था बदलिएको छ । मानिसहरुमा बीमा चेतना बढेर गएको छ । बीमा अभिकर्ता पेशा नै आर्कषणको केन्द्र बन्न थालेको छ ।
खासगरी विश्वव्यापीकरणको प्रभाव, सामाजिक जागरण र चेतनामा पनि भएको बृद्धि, सरकारको पनि केही पहलकदमी आदीले बिमा गर्नेहरु बढेका हुन् । बिकसित देशहरुको तुलनामा नेपालमा बिमा गर्ने धेरै कम भएपनि पछिल्ला बर्षहरुमा बिमा क्षेत्र भने विस्तार र विकसित हुँदै गएको छ । नेपाल बिमा प्राधिकरणको आर्थिक बर्ष ०८०–०८१ को तथ्यांक अनुसार गत चैत्र मसान्तसम्म ४४.५५ प्रतिशत जनसङख्यामा बीमा पहुँच पुगेको छ । ०७५ साल चैत्र मसान्तसम्म भने जम्मा १७ प्रतिशत जनसङख्या बीमाको पहुँच थियो । खासगरी विगत ५ बर्षयताको कोरोना कालमा बीमा पहुँच विस्तार भएको छ । कुल ग्राहस्थ उत्पादनमा पनि बिमा क्षेत्रको योगदान बढेर ३ प्रतिशत पुगेको छ ।
यसले रोग ब्याधी र महामारीले पनि जनतामा बिमाको महत्व जगाएको आभाष हुन्छ । यद्यपी बिमा सम्बन्धि चेतना विस्तारित हुन नसक्नु, बिमा कम्पनीहरु शहर तथा शहरउन्मुख सुविधा सम्पन्न क्षेत्रमा केन्द्रित हुनुले अझै ठुलो जनसङख्या बिमा पहुँचको बाहिर छ ।
अहिले नेपालमा बिमा समितिबाट इजाजतपत्र लिइ ३५ वटा बीमा कम्पनीहरु सञ्चालनमा छन् । अहिले भएका बीमा कम्पनीहरु मध्ये १४ वटा जिवन बीमा कम्पनी रहेका छन् भने १४ वटा नै निर्जिवन बिमा कम्पनीहरु छन् । २ वटा पुर्नरजिवन बिमा कम्पनी सञ्चालनमा छन् । त्यसैगरी ३ वटा लघु जिवन बिमा कम्पनी र ४ वटा लघु निर्जिवन कम्पनी सञ्चालनमा छन् । यसरी पछिल्लो दशक बैंकहरु जस्तै बिमा क्षेत्रले पनि छलाङ मारेको छ । सञ्चालनमा आएका धेरै कम्पनीहरुको प्रोफाइल समेत मजवुद देखिन्छ । दर्जन भन्दा बढी जिवन बीमा कम्पनीहरु त बैंकहरुकै प्रत्यक्ष संग्लनतामा सञ्चालित छन् ।
वास्तम्वमै बीमा अपरिहार्य हो । हरेक चीजको बीमा गरिनु आवश्यक देखिन्छ । अझ जीवन बिमा त अपरिहार्य नै छ । बिमा गर्दा हरेक खालका जोखिमका भारहरु बिमा कम्पनीहरुले नै बहन गर्ने कारण मान्छेका तनावहरु कम हुन्छन् । जिन्दगी नै सहज हुन्छ ।
नेपालमा सन्र्दभमा बिं सं २००४ सालमा निर्जिवन बिमा कम्पनीको रुपमा नेपाल इन्योरेन्स कम्पनी लिमिटेडको स्थापना भयो । सो पश्चात बिमा व्यवसायको सुरुवात भएको हो । विश्वको इतिहास हेर्ने हो भने ५ सय बर्ष पहिले बेलायतबाट बिमा ब्यवसायको सुरुवात भएको पढन् पाइन्छ । नेपालमा दोश्रो बिमा कम्पनीको रुपमा भने बिस २०२४ सालमा आएर राष्ट्रिय बीमा संस्थानको स्थापना भयो । यी दुइ सरकारी तवरबाट सञ्चालित संस्थानहरुले आफ्ना गतिविधिहरु अघाडी बढाएको निकै लामो समयपछी मात्रै नेपालमा नीजि क्षेत्रबाट बिमा कम्पनीहरु उदाएका हुन् । नेपालमा नीजि क्षेत्रबाट पहिलो पटक बि.स. २०४४ सालमा नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएको हो ।
नेपालमा बीमा व्यवसायको सुरुवात भएको ७६ बर्ष पुरा भएपनि लामो समयसम्म उपयुक्क्त कानुन तथा नीति नियम नबनेको कारणले यस व्यवसाय पछाडि पर्यो । ०४६ सालको नयाँ बहुदलीय उदार व्यवस्था पछीमात्रै यस व्यवसायमा नीजि क्षेत्रबाट लगानी बढ्न थाल्यो ।
यसरी नेपालमा बीमाको इतिहास भने लामो नै देखिन्छ । तर विदेशीहरुको दाँजोमा यो व्यवसाय नेपालमा निकै नै पछाडी परेको छ । अन्यन्त्र कतिपय देशहरुमा बिमा गर्नेपर्ने चलनहरु छन् । अझ स्वास्थ्य बीमा त अनिवार्य गराइन्छन् । तर नेपालमा त्यस्तो व्यवस्था नभएकोले पनि यो व्यवसाय पछाडी परेको देखिन्छ । यस व्यवसाय अघि बढ्न नसक्नुको अर्को मुल कारण आर्थिक हो । मानिसहरुले बिमा गर्ने भनेको बचतको अवस्थामा नै हो । बचतको लागि आम्दानीका स्रोतहरु बलियो हुनैपर्छ । देशकै अर्थतन्त्र, रोजगारीको अवस्था सबै अवयवहरु राम्रो हुँदामात्रै बिमा व्यवसाय मौलाउने हो । पछिल्लो दशक नेपालमा शान्ति सु–ब्यवस्था कायम हुँदै गएको छ । रोजगारीका लगि विदेशीने नेपालीहरु बढेका छन् । फलस्वरुप रेमिटयान्स् पनि बढेको छ । रेमिट्यान्सकै बृद्धि र प्रभाव स्वरुप बंैक वित्तिय क्षेत्रदेखि बीमा कम्पनीहरु समेत मौलाएका हुन् । बैकहरुको निक्षेप बढाउने कुरामा रेमिटयान्स्ले नै अग्रणी भुमिका खेल्यो । जसकारण उनीहरुले बढेको निक्षेप लगानी गर्न पाए । बैकहरुकै अगुवाइमा अहिले बिमा क्षेत्र समेत फष्टाउँदै गएको छ । बिमा क्षेत्र फष्टाउँदै जानुमा डिजिटल मिडियाको हात पनि उत्तिकै छ । मानिसहरुमा सचेतनाको बृद्धि नगरुन्जेल बिमा क्षेत्र निश्चय नै अघाडी बढ्न सक्दैन । बिमा भनेको के हो र यो किन आवश्यक छ ? भन्ने कुराको जानकारी हरेक नेपालीमा गराउन जरुरी छ । उनीहरुलाई उचित ढंगले जानकारी गराइने होभने यो व्यवसायको भविष्य नेपालमा निकै उज्वल देखिन्छ । बिमा गर्दा सबैले आफना जोखिमका भारहरु घटाएर सन्तुष्ट जिवन बाँच्न पाउँछन् । तर नेपालमा ग्रामिण भेगहरुको त कुरै छाडौं । शहरी क्षेत्रमै बिमाबारे यथोचित बुझाइ जनमानसमा छैन । धरै धनाद्य र पढेलेखेकाहरु समेत बीमा गर्ने कार्यहरुबाट चुकेका छन् । त्यसकारण बीमा व्यवसाय बढाउन र मानिसका जोखिमका भारहरु कम गर्न बीमा सम्बन्धी तालिम, प्रचार प्रसार जस्ता जनचेतनामूलक अभियान जरुरी छ ।
यद्यपी पछिल्ला केही बर्षयता बैक तथा वित्तिय संस्थाहरुबाट नै बीमाको पनि सेवा सुरुवात भएको हो । त्यसले अलिकति बीमाको पहुँच बढाएको हो । बंैकहरुले बीमा कम्पनीहरुसँग बैंकास्योरेन्स अर्थात बीमा सेवा प्रदान गर्ने अधिकार सहितको सम्झौता गरेका हुन् । तर अहिले त्यो सेवा बैकहरुले बन्द गरेका देखिन्छ । किन बन्द भयो त्यो एउटा अध्ययनको बिषय होला । तर बैकहरुले प्रतिस्पर्धी रुपमा सेवाग्राहीहरुलाई प्रदान गर्ने सेवा सुविधाहरुमा बीमालाई समेट्नुले बिमा फष्टाउन पाएको थियो ।
बीमा क्षेत्रलाई नियमन तथा नियन्त्रण गर्न, यसलाई अघी बढाउन हालसम्म बीमा समितिले काम गरिरहेको छ । पछिल्लो समय कानुनमा पनि सुधार गरेर बिमा क्षेत्रलाई ब्यवसायिकरण, व्यवस्थीतिकरण र जनताको पहुँचमा पु¥याउँन सरकार पनि लागेकै देखिन्छ ।
मुलत बीमा कम्पनीहरुको चुक्क्ता पूँजी कम हुनु र उनीहरुले विगतमा आफनो स्तर पनि बढाउन नसक्दा जनमानसमा विश्वासको वातावरण बढ्न नसकेको थियोे । कोरोनाकालमा पनि कोरोना बिमा गरेका आधा बिमितहरु अर्थात करिव एक लाख ५ हजार विमितले भुक्तानी पाएनन् । त्यसमा बिमा कम्पनी भन्दा पनि सरकारले सम्झौता पालना नगर्दा कोरोना विमा अन्र्तगतको १० अर्ब ५० करोड दावी भुक्तानी विमितले पाएका छैनन् । बिमा व्यवसायमा यस्ता घट्नाले साच्चै नै चुनौती सिर्जना गरेको छ । बिमाको शाख नै गिराएको छ । यस्ता विषय उपर सरोकारवाला निकाय निकै नै संवेदनशील हुन जरुरी छ ।
पछिल्लो बर्षहरुमा सरकारी स्तरबाटै लघु बिमा, कृषि बीमा, स्वास्थ्य बिमा लगायतमा भएका पहलकदमी सार्थक देखिन्छन् । त्यसलाई अझै घनिभुत बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।
अहिले वास्तम्बमा नेपालीलाई पुग्ने र थेग्ने सङख्यामा बीमा कम्पनीहरु खुलिसकेका छन् । सरकारले यस्ता कम्पनीहरुलाई इजाजतपत्र दिएर मात्रै हुदैन । यस क्षेत्रलाई अझ ब्यवस्थीत गर्न ऐनहरु संशोधन गर्नुपर्छ । बंैकहरुलाई जस्तै बिमा व्यवसायका क्षेत्रलाई अझ व्यवस्थीत गरेर विश्वासिलो र भरपर्दो बनाउन जरुरी देखिन्छ । बीमा कम्पनीहरु पुँजीगत रुपमा दरिलो हुनुपर्छ, जनशक्तिको हिसावले पनि मजबुत हुनुपर्छ ।
बिमा गर्ने परिपाटीको विकास गर्न सकियो भने त्यसले जनताको बचतमा पनि बृद्धि हुन्छ । जनताले बिमा गर्दा उठाइएका रकमहरु बिकास निर्माणका ठुला आयोजनाहरुमा लगानी हुन सक्दछन् । खासगरी जिवन बिमा गर्नेहरु बढद लामो अवधिको ठुलो कोषहरु खडा हुन्छन् । त्यस्तो कोषको निधक्क लगानी बिमा कम्पनीहरुले गर्न सक्दछन् । जसले बिमा कम्पनीलाई पनि र बिमा गर्ने ब्यक्तिलाई पनि उत्तिकै फाइदा हुन्छ । दुबैतर्फी फाइदा हुने यस ब्यवसायकै कारण राज्यको आर्थिक गतिविधि बढाउन, कर आय बढाउन, दिर्घकालिन आयोजनाहरुमा लगानीका लागि स्रोत र समग्र आर्थिक बिकासमा बिमाले धेरै ठुलो भुमिका खेल्छ ।

