
–विश्वनाथ खरेल
हिन्दूहरुमा भगवान् श्रीपशुपतिनाथको ठूलो महिमा छ । श्रीपशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे बेद, पुराण, धार्मिक साहित्यक र तान्त्रिक ग्रन्थहरुमा अति विस्तृत रुपमा पाइन्छ । हाम्रोे हिन्दू समाजमा पनि परापूर्वकाल देखि नै शिवजी पूजा आजा, उपासना गर्ने चलन आजसम्म कायमै छ । नेपालका साथै भारतलगायत विश्वका हिन्दूहरुको बाहुल्य भएका क्षेत्रहरुका शिवमन्दिर, शिवालय, शिवलिङ्गेश्वर, ज्योतिर्लिङ्गश्वर आदि स्थानहरुमा यस पर्वमा असंख्य भक्तजनहरुको भीड लाग्ने गर्र्दछ । यसरी फाल्गुन कृष्ण चतुर्दशीमा महाशिवरात्री पर्व काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा ठूलो महत्वका साथ सम्पन्न गरिन्छ । यसमा भारतलगायत विश्वका विभिन्न राष्ट्रहरुबाट र स्वदेशमा साधु–सन्त, महन्थ, भक्तजनहरु शिवरात्रीपर्वमा पशुपतिनाथको पूजा–आराधना गरी दर्शनार्थ प्रत्येक वर्ष असंख्य नरनारीहरु काठमाडौं पशुपति क्षेत्रमा मेला हुने गर्दछन् । यो महाशिवरात्रीका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ ।
विश्वको सृष्टि गर्दा अर्ध नारीश्वरको रुप धारण गर्ने शिवले समय समयमा आवश्यक तथा कौतुहलवस हरेक रुप धारण गर्नु भएको छ । ती रुपहरुको चर्चा असम्भव नै देखिएकाले खास अवतारहरु मात्र देख्न सकिन्छ । शिवजीको दश अवतार छन् भनेता पनि प्रख्यात शिव पुराण र स्कन्द पुराणले यस विषयमा प्रसस्त प्रकाश पारेका छन् । यस लेखको आधारशीला त्यसैले यिनै ग्रन्थ बन्न गएका छन् । हिन्दूहरुको ठूलो पर्व र बडो श्रद्र्धापूर्वक मनाइने पर्व यो महाशिवरात्रीलाई हिन्दूहरुले सर्वोच्च स्थान दिएका हुनाले पनि उनको आराधनाको पर्वमा “महा” जोडेर महाशिवरात्री भनिएको हो । त्यसकारण शिवजीको महिमा मनाइने यस पर्वको ज्यादै ठूलो छ । नेपाल अधिराज्य भरीमा भएका मन्दिरहरुमा श्री पशुपतिनाथको मन्दिरको प्रसिद्ध रहेको कुरा विभिन्न ऐतिहासिक प्रमाणहरुबाट समेत अवगत हुन्छ । शिवजीको प्रथम अवतारको नाम महाकाल हो । कालको पनि काल भएकोले महाकाल भनिएको हो । महाकालले कालको पनि नियन्त्रण गर्न सक्छन । दक्षको यज्ञमा जव शंकर र सतीको अनादर गरिएको थियो । त्यस वखत शिवजीले यहि महाकालका स्वरुप लिनुभएको थियो ।
प्रत्येक साल फागुन कृष्ण चतुर्दशीको दिन महाशिवरात्री पर्व मनाइन्छ । शिवलाई यजुर्वेदमा स्पष्ट रुपमा वर्णन गरेर उनलाई वैदिक देवताको रुप प्रदान गरिएको पाइन्छ । यसर्थ शिवजीको आराधना प्राचिन कालदेखि नै भएको बुझिन्छ । हाम्रा आराध्य देव शिवजीलाई तन, मन, धनले श्रद्धा गर्छौ । जसमा शंकर, महेश, पशुपति, रुद्र, भोलानाथ, भोलेवावा, महादेव, शम्भु, कैलासपति, गिरिराज, नीलकण्ठ आदि छन् । हामी उनलाई पशुपतिको संज्ञाले बडो श्रद्धा गर्दछौं । सारा नेपालीहरु चाहे हिन्दू होउन् वा वौद्ध सबै पशुपतिनाथको मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक आराधाना गर्दछौं । यस महान पर्वमा नेपालीहरु मात्र नभएर छिमेकी मुलुक भारतका असंख्य श्रद्धालु भक्तजनहरुको घँुइचो लाग्दछ । विश्वमा नै प्रख्यात पशुपति क्षेत्रले गर्दा नेपालको धार्मिक क्षेत्रका गौरवगाथालाई विश्वभरी चिनाउंछ । यो विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा हिन्दूधर्मको प्रधानता छ । जसलाई विश्वमा ४२ प्रतिशतभन्दा बढी हिन्दूहरु रहेको एक मात्र देश नेपाल हो । देशले शैव धर्मलाई शताव्दी अगाडिदेखि अंगीकार गर्दै आएको छ । हाम्रा आराध्य देवताका रुपमा प्रख्यात पशुपतिनाथ शिवकै प्रतीक हुन । यसै क्रममा पशुपतिको दर्शन गर्नु अगाडि गुह्ेश्वरीको पनि दर्शन गर्ने प्रचलन छ । यसरी गुह्ेश्वरी पशुपतिकै शक्ति हुन । निराकार रुपमा आराध्या भएकी गुह्ेश्वरीले शक्ति कै विम्वलाई सम्झाउंछिन् ।
श्री पशुपतिनाथको महत्व नेपाली जनजीवनमा पहिले देखि नै प्रसिद्ध थियो । फलतः नेपालमा भएको पशुपतिनाथको उद्भव सम्वन्धी भिन्न भिन्न धारणाहरु पाइन्छन् । हिमवतखण्ड पशुपति पुराण, नेपाल माहात्म्य जस्ता साहित्यिक ग्रन्थहरु तथा गोेपालराज बंशावली लगायतका भाषा वंशाबलीहरुमा पनि त्यस सम्वन्धी चर्चा पाइन्छ । पशुपतिनाथको उद्भवको सम्वन्धमा चर्चा गर्ने पहिलो वंशावली गोपालराज वंशावली हो । नेपालमा पाइएका वंशावलीहरुमा सो वंशावली सबैभन्दा पुरानो मानिन्छ । शिव र पार्वती संगसंगै रहेको वेला शिवका परम भक्त नन्दी, भृङ्गीले शिवको मात्र कदर गरेर पार्वतीको अवहेलना गरेको भान त्यस वखत पार्वतीलाई भयो । तसर्थ शिवले अद्र्धनारीश्वरको रुपमा शिव र पार्वतीलाई एकअर्काको पूरक तुल्याए । भक्तजनहरुले शिव र पार्वतीको अर्को रुप शिवलिंगमा देखे त्यसैले शिवलिंग पूजित हुन थाल्यो ।
शिवको सुदर्शन चक्र प्रसंङ्गको महिमा वर्णन गरिएको धर्मशास्त्रहरुमा पाइन्छ । जबकी भगवान् विष्णुको हातमा सदैव सुदर्शन चक्र सुशोभित रहन्छ । यो सुदर्शन चक्र भगवान् शिवले नै भगवान् विष्णुलाई दिएका थिए । एक पटक भगवान् विष्णु शिवजीको आराधना गरिरहेका थिए । त्यसैबेला विष्णु देवताले भोलेनाथलाई प्रसन्न गर्नका लागि हजारौँ कमल ओछ्याएका थिए । तर भगवान् शिवले भगवान् विष्णुको भक्तिमा कति तत्परता छ भन्ने देख्न चहान्थे । यसैले उनले एक कमल उठाए । भगवान् विष्णु सहस्त्रनाम लिँदै शिवलिङ्गमा हरेक पटक कमलको फूल चढाइरहेका थिए । जब विष्णु १००० औँ नाम लिन्थे तब शिवलिङ्गमा अर्पित गर्न कुनै फूल बाँकी रहँदैन थियो । तब भगवान् विष्णुले आफ्नो आँखा निकालेर शिवलाई अर्पित गरिदिए । भगवान् विष्णुलाई कमलनयन भन्नुमा कमलको फूलसँगै उनले आफ्नो नेत्र अर्पित गरेकाले पनि हो । यसरी अटूट भक्ति देखेर भगवान् शिवले भगवान् विष्णुलाई सुदर्शन चक्र दिएका थिए ।
हिन्दूहरु नेपालमा मात्र होइन विश्वभरी छन् । त्यसैकारण महाशिवरात्रीको पर्व हाम्रो नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा पनि बडो उत्साह, उमङ्ग र भक्तिभाव मनाइन्छ । यस दिन भोले बाबाको शोडषोपचारको विधिले पूजा अर्चना गरिन्छ । आव्हान, आसन, पदय, अर्ष्य, आचमन, स्नान, वस्त्र, उपवीत, गन्धपुष्प, धूव दिप, नैवेध्य, तामूल, दक्षिणा, आरती, प्रदक्षिण आदि गरिन्छ । यस अवसरमा श्रद्धालुहरु उपवास वस्तछन् । ती उपवास बस्नेहरु र अन्य भक्तजन मन्दिर अधिल्तिर भजन कीर्तन गरी भगवान्मा लिहिन भएका हुन्छन् । त्यसै दिन टुडिखेलमा राष्ट्र प्रमुख तथा सरकार प्रमुखको पनि सवाई हुन्छ र सोही पावन अपसरमा देशवासीहरुको नाममा शुभेच्छा प्रकट गरिवक्सने परम्परा अद्यावधिक नै कायम छ । यसको साथै शास्त्रहरूका अनुसार शिवरात्रीमा उनी मानिसको सबैभन्दा नजीक हुन्छन् । त्यसैले यो रातमा गरिएको व्रत सफल हुने विश्वास गरिन्छ । विधिविधानसँग गरिएको व्रतले यस लोकमा मनोकामना पूरा हुने र मोक्ष मिल्ने विभिन्न ग्रन्थले बताएका छन् । यो दिन श्रद्धालुहरू बिहानै उठेर स्थानादि कर्म गर्छन् । त्यसपछि दर्शनका लागि शिवमन्दिर जान्छन् । विशेष भक्तहरू शिवलिंगमा जलको अभिषेक गर्छन् । शिवजीको प्रतीक स्वरूप हो शिवलिंग । यसका अनेक नाम छन्, जस्तै– पशुपतिनाथ, त्रिभुवनेश्वर, मुक्तेश्वर, सर्वेश्वर, गोपेश्वर, विश्वनाथ आदि गरी शास्त्रमा शिवजीका १ हजार ८ भन्दा बढी नाम प्रसिद्ध छन् । त्यसबाहेक पनि भक्तहरू उनलाई आ–आफ्नै तरीकाले सम्बोधन गर्छन् । यसै गरी शिवरात्रिमा रुद्राभिषेकको अत्यन्त महत्व छ । यसमा पनि सकभर ॐ नमः शिवाय मन्त्र जप्दै दूध, दही, सख्खर, मह, घ्यू मिसाइएको जलद्वारा अभिषेक गर्नाले शिवजी प्रसन्न हुने शास्त्रमा उल्लेख छ । शिवजीलाई जल, बेलपत्र, भस्म, रुद्राक्ष, धतुरो, कपूर, चन्दन प्रिय हुन्छ । शिवजीलाई खुशी पार्न धेरै सजिलो छ । शिवलिंगमा जल र बेलपत्र चढाए मात्र पनि उनी तुरुन्त खुशी हुन्छन् । यसको साथै श्रद्धालुको थोरै भक्ति, प्रार्थना र पूजाले पनि खुशी हुने भएकाले शिवजीलाई आशुतोष पनि भनिएको छ । यसकारण शिवजीलाई समस्त मानव, दैत्य र देवताको पनि देवता मानिएको छ । त्यसैले उनलाई परमेश्वर, महादेव जस्ता नामले पुकारिन्छ।

