काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन भएपछि देउखुरी क्रिकेट मैदानको चर्चा राष्ट्रिय स्तरमा चुलिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक ठूलो प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेपछि यस मैदानको चर्चा राष्ट्रियस्तरमा चुलिएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मैदानको अवलोकन र निरीक्षण यसअघि नै गरिसक्नु भएको छ । बुधबार क्यानका सचिव पारस खड्काले पहिलो पटक मैदानमा पाइला टेक्नु भएको छ । उहाँले स्थानीय स्तरबाट क्रिकेटको लागि यति ठूलो र भब्य संरचना निर्माण भएको देखेर खुशी व्यक्त गर्नु भयो ।
यो मैदानको भविष्य सुखद रहेको चर्चा गर्दै आगामी दिनमा यस भन्दा ठूला प्रतियोगिता गर्न सक्ने सामथ्र्य मैदानले राख्ने चर्चा गर्नुभयो । ‘यस्तो पूर्वाधार तयार भइसकेको मैदान यहाँ देख्न पाएँ । खुशी लागेको छ । यो मैदान क्यानले आफ्नो स्वामित्वमा पाएको खण्डमा यसमा एनपिएलसम्मको खेल खेलाउन सकिन्छ’– उहाँले भन्नुभयो– ‘अहिलेसम्म यसको विकासका लागि यहाँहरुले गर्नुभएको सहयोग र लगानीको लागि धन्यवाद दिन चाहन्छु ।’ मधेश प्रदेश र त्रिभुवन आर्मी क्लवको प्रतियोगिता हेर्न आइपुग्नुभएका खड्काले मैदानको अवलोकनका साथै स्थानीय सरकार र सरोकारवाला पक्षसँग छलफल गर्नु भएको हो ।
नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैयाँले देउखुरी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गरेर यसलाई अघि बढाउने बारेमा छलफल अघि बढेको बताउनुभयो । ‘विगतमा पनि हस्तान्तरणका लागि छलफल र प्रयास भएका छन् । अहिले भइरहेको प्रतियोगिताले थप मद्दत गर्दै सकारात्मक वातावरण तयार भएको छ’– उहाँले भन्नुभयो– ‘जिल्लामा खेल पूर्वाधार बढ्दै जानु सुखद् हो ।’ यसैगरी क्यान लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरले क्यानलाई मैदान हस्तान्तरण गरेर अघि बढ्न सके देउखुरी क्रिकेट मैदानको दिगो विकास हुने बताउनुभयो । ‘यो मैदान क्यानलाई हस्तान्तरण गर्न जरुरी छ । यस्ता प्रतियोगिताहरु नियमित हुन्छन्’– उहाँले भन्नुभयो– ‘क्यानको क्यालेन्डरमा यो मैदान पर्छ । क्यानलाई हस्तान्तरण गरेपछि मैदानको संरक्षण गर्न जनशक्ति परिचालन पनि हुनेछ ।’
क्यानलाई मैदान दिन तयार छौं: अध्यक्ष
लमही नगर विकास समितिको नाममा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वामित्व नेपाल क्रिकेट संघलाई दिने बारेमा छलफल अघि बढेको नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताउनुभयो । क्यानका सचिव खड्कासँग भएको छलफलमा अध्यक्ष चौधरीले क्यानलाई मैदानको स्वामित्व दिन तयार रहेको बताउनुभएको थियो । ‘केही विषयहरु टुंग्याउन बाँकी छ । त्यसपछि मैदान क्यानलाई दिने बारेमा निर्णय हुन्छ’– उहाँले भन्नुभयो– ‘देउखुरीको भविष्य यो मैदानले जोड्नेछ । हामी विश्वस्त छौं, अबका दिनमा पनि यसैगरी यहाँ प्रतियोगिताहरु चल्नेछन् ।’
छलफलमा नगर उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा, वडाध्यक्षलगायत सरोकारवाला पक्षको सहभागिता थियो । लमही नगर विकास समितिले झण्डै १० करोड लगानीमा मैदान निर्माण गरेको छ । सब–इञ्जिनियर तुलसीराम अर्यालका अनुसार आर्थिक वर्ष २०५७÷०५८ बाट मैदान निर्माणको काम अघि बढेको थियो । शुरुमा ६० मिटर रेडियसमा मैदान विस्तार गरिएको थियो भने पछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार ८० मिटरमा पु¥याइएको हो । अहिले दर्शकहरूको सुविधाका लागि प्याराफिट, भिआइपी प्याराफिट र प्राकृतिकरूपमा बस्न मिल्ने स्थान समेत व्यवस्था गरिएको छ । साथै कमेन्ट्री टावर ब्लक पनि निर्माण भइसकेको छ । मैदानको पूर्वाधार निर्माणमा राष्ट्रिय खेलकूद परिषद् र लमही नगरपालिकाले समेत लगानी गरेका छन् ।
मैदानमा प्रतियोगिता हुन थालेपछि निजी क्षेत्रसहित स्थानीय खेलप्रेमीहरु उत्साहित भएका छन् । नगर विकास समितिले निर्माण गरे पनि मैदानको रेखदेख र संरक्षणको अभाव हुँदै आएको थियो ।

