काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा छहारी युवा क्लब र संकटा क्लबले विजयी सुरुवात गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियले क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ।
वर्षाका कारण ३० मिनेट रोकिएको खेलमा छहारीका लागि ललिता मण्डल, सुमित्रासिंह पाख्रिन र सानिमा मायाले एक–एक गोल गरे। खेलको सातौं मिनेटमै ललिताले गोल गर्दै छहारीलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि १९ औं मिनेटमा सुमित्राको प्रहार गोलमा परिणत भयो। दोस्रो हाफमा ६२ औं मिनेटमा सानिमा मायाले गोल गर्दै छहारीको जित सुनिश्चित गरिन्। छहारीकी सुमित्रासिंह पाख्रिन प्लेयर अफ द म्याच घोषित भइन्।
दोस्रो खेलमा संकटा क्लबले नेपाल खेलकुद क्लबलाई १–० गोलअन्तरले हरायो। संकटाका लागि यशोदा शाहीले निर्णायक गोल गर्दै टिमलाई तीन अंक दिलाएकी थिइन्।
आज प्रतियोगिता अन्तर्गत राप्ती फुटबल क्लब र आरएस रिसोर्ट एन्ड बीच फुटबल क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ। त्यस्तै, बुटवल लुम्बिनी फुटबल क्लब र लम्की फुटबल क्लबबीच दिउँसो ४:१५ बजे अर्को खेल हुनेछ।
Previous Articleआज दिउँसो राष्ट्रिय सभा बैठक, दुई कार्यसूचि टेवुल
Next Article कर्णाली प्रदेशमा जग्गा बाँझो राखे जरिवाना

