काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारले तोकेको मितिअनुसार आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गराउने दृढ अडान व्यक्त गरेका छन्।
आइतवार नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँगको भेटमा मन्त्री खरेलले “फागुन २१ को निर्वाचन कुनै हालतमा स्थगित हुँदैन” भन्दै सरकार त्यसका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उनका अनुसार, हालको सरकारलाई प्राप्त ६ महिनाको म्यान्डेटभित्रै भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र जनताले अनुभूति गर्न सक्ने सुधारका कार्यक्रमहरू कार्यान्वयन गरिनेछ। “सरकार जनताले परिणाम देख्न सकोस् भन्ने लक्ष्यसहित अघि बढेको छ,” उनले भने।
मन्त्री खरेलले हालैको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटजस्ता घटनामा संलग्न व्यक्तिमाथि कानूनी कारबाही हुने पनि स्पष्ट पारे।
सो अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले आन्दोलनका क्रममा सञ्चार संस्थाहरूले भोग्नुपरेको नोक्सानी र पत्रकारहरूले सामना गर्नुपरेका कठिनाइबारे मन्त्रीको ध्यानाकर्षण गराइन्।

