काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोचक खेल हुँदैछन्।
पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ।
अर्को खेल अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
प्लेअफमा टिक्न ‘अतिआवश्यक’ जितको दबाब पोखरामाथि
पाँच खेलबाट जम्मा ४ अंक बटुलेको पोखरा एभेन्जर्स आज काठमाडौँविरुद्ध जित्नैपर्ने स्थितिमा छ। यो खेल हार्ने हो भने पोखराको प्लेअफ यात्रा प्रायः समाप्त हुनेछ।
काठमाडौँ गोर्खाजले भने ६ खेलबाट ८ अंक जोड्दै प्लेअफस्थान सुरक्षित गरिसकेको छ। आजको जितले उनीहरूलाई शीर्ष दुईमा पुग्ने सम्भावना पनि बलियो बनाउनेछ।
सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच जीवन-मरणको लडाइँ
अपराह्न हुने दोस्रो खेल पनि उत्तिकै रोचक छ।
पहिले नै १० अंक जोडेर ‘टप’मा बसेको सुदूरपश्चिम रोयल्स आज पराजित भए पनि शीर्ष स्थान सुरक्षित रहने छ।
तर पाँच खेलबाट ४ अंकमात्रै जोडेको चितवन राइनोजका लागि भने आजको खेल अस्तित्वको प्रश्न बनेको छ। चितवन राइनोजले जित्न नसके प्लेअफबाट बाहिरिने स्थिति छ।

