काठमाडौँ। नेकपा (एमाले)को एघारौँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदै छ। मतदानबाट अध्यक्षसहित ३०१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ। तीमध्ये १९ जना पदाधिकारी निर्वाचन प्रक्रियाबाटै चयन हुनेछन्।
एमालेको विधानअनुसार कम्तीमा एक जना महिला पदाधिकारी अनिवार्य हुनुपर्ने व्यवस्था रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। तर, कुन पदमा महिला पदाधिकारी हुनुपर्ने भन्ने विषय भने विधानमा स्पष्ट रूपमा उल्लेख छैन।
हाल पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तर १९ पदाधिकारीका लागि ३९ जना पुरुषसँग प्रतिस्पर्धा गर्ने महिला उम्मेदवार भने तीन जना मात्र छन्।
महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्ष दोहोरिने तयारीमा छन्। उनले अध्यक्ष पदमै उम्मेदवारी दिइसकेका छन्। ओलीलाई यसपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन्।
पोखरेलले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको छुट्टै प्यानल सार्वजनिक गरेका छन्। पदाधिकारी तहमा ओलीको प्यानलबाट एक जना मात्र महिला उम्मेदवार रहेकी छन् भने पोखरेलको प्यानलबाट दुई जना महिला उम्मेदवार अघि सारिएका छन्।
ओलीको टिमबाट सचिव पदमा पद्मा अर्याल उम्मेदवार बनेकी छन्। पोखरेलको टिमबाट उपाध्यक्षमा डा. विन्दा पाण्डे र सचिवमा रचना खड्काले उम्मेदवारी दिएका छन्।
डा. पाण्डे यसअघि एमालेको स्थायी कमिटी सदस्य थिइन्। यसपटक उनी पाँच जना उपाध्यक्षका लागि १० जना प्रतिस्पर्धीसँग मैदानमा उत्रिएकी हुन्। एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार उपाध्यक्ष पदमा पाण्डेसहित ११ जना उम्मेदवार छन्।
सचिव पदका लागि छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी दिएका पद्मा अर्याल र रचना खड्काले १८ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। नौ जना सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। अर्याल यसअघि पनि सचिव पदमै रहेकी थिइन् भने खड्का यसअघि केन्द्रीय सदस्य थिइन्।
पदाधिकारीका अन्य पदहरूमा भने पुरुष उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुनेछ। अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुँदा महासचिव पदमा ओलीको प्यानलबाट शंकर पोखरेल र पोखरेलको प्यानलबाट सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।
त्यस्तै, तीन जना उपमहासचिवका लागि सात जनाको उम्मेदवारी परेको छ। उपमहासचिव पदका सबै उम्मेदवार पुरुष नै रहेका छन्।
यसअघि एमालेको दशौँ महाधिवेशनबाट दुई जना महिला पदाधिकारी निर्वाचित भएका थिए। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका थिए। तर, शाक्यले यसपटकको महाधिवेशनमा उम्मेदवारी नदिने घोषणा गरिसकेकी छन्।

