काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका डा श्री कुँवरले पार्टीले धोका दिएको आरोप लगाउँदै रास्वपा परित्यागको घोषणा गरेका छन्।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिसमा परेका कुँवरले आफूलाई उम्मेदवार बनाउने आश्वासन दिएर अमेरिकाबाट नेपाल बोलाइए पनि अन्ततः अन्य व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टि जनाउँदै रास्वपा छोडेको घोषणा गरेकाका हुन्।
रास्वपाले उक्त क्षेत्रमा कुँवरसहित ६ जनाको नाम उम्मेदवार सिफारिस गरेको थियो। पार्टी स्थापनादेखि नै अमेरिकामा बसेर सहयोग गर्दै आएका कुँवरले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन्।
राजीनामा पत्रमा उनले पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सनको प्रक्रिया अवलम्बन नगरी उम्मेदवार चयन गरिएको भन्दै असहमति जनाएका हुन्। प्राइमरी इलेक्सन नगरी सो क्षेत्रमा बालेन साहको कोटाबाट उनका सल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाइएकोप्रति आफू असन्तुष्ट बनेको उनले उल्लेख गरेका छन्।
कुँवरका अनुसार आफू अमेरिकामा व्यवस्थित जीवन बिताइरहेका बेला रास्वपाका स्थानीय नेताहरूले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेपछि उनी नेपाल आएका थिए। “म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ। रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जिसी र नेता प्रेम खत्री लगायतले उम्मेदवार बन्न आग्रह गरेकाले नेपाल आएँ र प्राइमरी इलेक्सनमा सहभागी भएँ। तर पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार चयन गर्यो,” उनले बताएका छन्।
उनले ‘फेसबुकमा रास्वपा जस्तो देखिन्छ, ग्राउण्डमा (रियल) त्यस्तो देखिदैन’ भन्दै गम्भीर आरोप समेत लगाएका छन् । उनले पार्टी निर्माण सँगसँगै रास्वपामा भ्रस्टाचारले नराम्रोसित जरा गाडेको भन्दै यस्तो पार्टीमा बसिरहन उचित नभएको भन्दै राजीनामा गरेको उल्लेख गरेका छन् ।

