नन्दलाल खरेल
कमरेड माओत्सेतुङ चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष र विश्व सर्वहारा वर्गका महान नेता हुन् । उनी दीर्धकालिन जनयुद्धको सिद्धान्तकार एवं प्रयोगकर्ता र माओवादका प्रवर्तक समेत हुन् । त्यतिमात्र होइन उनी निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुन् । माओले २७ वर्ष चीनको नेतृत्व गरे । चीनलाई सामान्तवादबाट स्वतन्त्रता दिलाए । माओपछि देङ साओपिङ को चिनियाँ इतिहासमा अविस्मरणिय योगदान गरेका छन् । उनले चीनको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेका छन् । देङ साओपिङले खुला नीतिको समर्थन गरे ।उनले पहिलो सुधार कार्यक्रम कृषिमा घोषणा गरेका थिए । यसले चीनको खेती प्रणाली, उत्पादन र वितरण प्रक्रियालाई लगभग संसारकै नमुना बनाइदियो । कृषिमा गरिने सुधारबाट देशको विकास चाँडै सम्भव छ भन्ने उनको दृष्टिकोण थियो। यसको परिणाम १० वर्षमै देखिएको थियो । जस्तो कि सन् १९७५ देखि ८५ सम्मको दशकमा त्यहाँको कृषि उत्पादन २५ प्रतिशतले वृद्धि भएको थियो । त्यतिमात्र होइन कृषिको उत्पादनले कृषिमा आधारित उद्योग कलकारखानाको वृद्धि र विकासमा सघाउ पु¥याएको थियो । त्यसपछि उनको सुधार नीति उद्योगको विकास र औद्योगिक उत्पादनमा थियो । यसलाई उनले सरकारी र नीजी क्षेत्रको उत्पादन तथा ग्रामीण र शहरी क्षेत्रको उत्पादनका रुपमा वर्गिकरण गरी वैज्ञानिक मूल्य प्रणाली ल्याए । जसका कारण उत्पादकत्वको क्षेत्रमा चीनको प्रगति दिन प्रतिदिन वढ्यो । यसले अर्थतन्त्रमा सकारात्मक असर पा¥यो ।
देङ साओपिङले देशलाई धनी बनाए । अर्थात आर्थिक क्रान्ति गरे । चिनियाँ विशेषतासहितको समाजवादी अर्थतन्त्र को सुरुवात गरेका थिए । देङ साओपिङले माओको नीतिलाई संशोधन गर्दै उनले समाज सबल बनाउन वर्ग संघर्षभन्दा उत्पादनमा जोड दिनु पर्ने नीति ल्याए । समाजवादको लक्ष्य हासिल गर्न उत्पादन शक्तिको विकासको नीति अवलम्बन गरे देङले । सरकारले नियन्त्रण गर्ने शर्तमा स्वदेशी तथा विदेशी पूँजीपतिलाई कारखाना सञ्चालन दिए । त्यतिमात्र होइन उनले विदेशी पूँजी र प्रविधि देशमा भित्रयाउने अभ्यास शुरु गरे ।
चीन आज दोस्रो ठूलो महाशक्तिको रुपमा देखा परेको छ । चीनलाई आजको अवस्थामा पु¥याउन माओ र देङ साओपिङ्पछि सी चिनफिङको महत्वपूर्ण हात छ । चिनियाँ समृद्धिको पहिलो च्याप्टर माओ, दोस्रो च्याप्टर देङ र तेस्रो च्याप्टर सी हुन् । २०१७ को अक्टोवर १८ मा सीले चिनियाँ सपनाको वारेमा एक भाषणमा भनेका थिए, ‘चिनियाँ सपना भनेको इतिहास फर्काउने वर्तमानमा देखिएको भविष्यको सपना हो । चिनियाँ सपना हाम्रो पुस्ताको सपना हो ।’ सी चीनफीङ अहिले दोस्रो कार्यकालमा चीनलाई नेतृत्व गरिरहेका छन् । सीको पहिलो कार्यकाल निकै लाभदायी भयो । पहिलो कार्यकालमै चीनले आर्थिक समृद्धिमा ठूलो फड्को मारेको छ । सीले पहिलो कार्यकालमा चीनको हितको लागि अन्य देशमा दवाव सृजना गरे । चीनलाई अन्तराष्ट्रिय हिसावमा निकै मजबुत बनाए । त्यतिमात्र होइन उनले चीनलाई विश्वव्यापी शक्तिको रुपमा स्थापित गरे । खासमा उनले त्यो कुराको सुरुवात उपराष्ट्रपति हुँदा नै शुरु गरेका थिए ।
सी चिनफिङ ले चीनलाई सन् २०५० सम्ममा पूर्ण समाजावदी बनाउने लक्ष्य लिएका छन् । त्यो लक्ष्य अनुसार उनी अगाडि पनि बढेका छन् । उनी शासनमा आउनु अगाडि चीनमा करिब ९९ करोड जनसख्या गरिब थियो । तर उनको पहिलो कार्यकालमा नै यो संख्या चमत्कारीक तवरमा घटेर ४३.३५ करोडमा पुग्यो । २०२१ सम्म चीनले गरिबीको दर शुन्यमा झार्न सफल भएको छ । गरिबी घटाउन सीले निकै ठूलो आभियान चालेका थिए ।
एक महिना अघि चीनको राज्य परिषद सूचना कार्यलयले गरिवी निवारण चीनको अनुभव र योगदान शीर्षकमा एक श्वेत पत्र जारी गरेको छ । यो श्वेतपत्रले एक शताब्दीयता चिनियाँ कम्युनिष्ट पार्टी को नेतृत्वमा चिनियाँ जनताले गरिबीसँग कसरी लडे र कसरी त्यो असाध्य लडाई जितेका छन् भन्ने विस्तृत कथा पस्किएको छ । सी चिनफिङको मार्गनिर्देशन र सुपरीवेक्षणमा चीनले गरिबी निवारणको आफ्नो नयाँ युगको कार्यभारलाई पुरा गरेको छ । यसले चिनियाँ जनताको सपनालाई मात्रै पुरा गरेको छैन, विश्वकै निम्ति गरिबी निवारण र मानव विकासका सवालमा महान योगदान गरेको छ ।
ग्लोवलटाइसको सम्पादकीयमा लेख्छ यो श्वेत पत्रले चीनको सयवर्षे कर्मको कथा भन्छ । चीन किन सफल भयो, त्यसको वर्णन गर्छ र चीनको गरिबी निवारणको सिद्धान्तलाई व्यवस्थित रुपले सारांशीकृत गर्छ । श्वेत पत्रको पहिलो वाक्यमा लेखिएको छ, ‘गरिबी मानव समाजको जीर्ण रोग हो । पुरै विश्वले सामना गरिरहेको साझा चुनौति हो ।’ मानव समाजको गरिवीसँग लड्ने कार्यभारका निम्ति नयाँ मार्ग खोलिदिएको छ । चिनियाँ विशेषता सहितको गरिबी निवारणको मार्गमा ६ भाग छन् –जनतामा केन्द्रित, शासनको केन्द्रमा गरिबी निवारण, विकासले गरिबीलाई बढार्ने, वास्तविकतालाई आधारित रहेर प्रक्रियालाई समृद्ध बनाउने, गरिबलाई नै मुख्य भूमिका खेल्न दिने र सबै पक्षबाट शक्ति एकत्रित गरेर लड्ने । सीले उदार शैलीको आर्थिक नीति अपनाए पनि उनले स्थानीय सरकार र नीजि कम्पनीबीच गज्जब सामजस्य निर्माण गरेका छन् । अहिले सीले पब्लिक प्राइभेट पार्टनरसीपमा विशेष जोड दिएका छन् ।
१८ मार्च २०१८ मा चीनले सी विचारधारा संविधानमा समेट्दै राष्ट्रपति कार्यकालको सीमा हटायो । चीनले पहिलो पटक १९५४ मा संविधान लागू गरेको हो । चीनले यस अगाडि १९९३, १९९८ र २०१८ मा गरी चारपटक संविधान संशोधन गरेको छ । चीनले विशेषगरी आफ्ना नेताको नाम संविधानमा सामेल गर्न संविधान संशोधन गर्ने गर्छ ।
सी राष्ट्रपति भएदेखि नै चीनमा फेरि एकपटक चिनियाँ विशेषतासहितको समाजवादको चर्चा सुरु भएको थियो । ब्रिटिश पत्रकार तथा राजनीतिज्ञ सिइएम जोडको प्रख्यात भनाई छ – ‘समाजवाद एक यस्तो टोपी हो, जसलाई मान्छेहरु आपूm अनुकूल पहिरन सक्छन् , किनकि यसको कुनै निश्चित स्वरुप छैन ।’ राष्ट्रपति सीको समाजावदको परिभाषालाई पनि कतिपयले सिइएमको भनाइसँग जोडेका छन् । आलोचकले जे जस्तो भने पनि सीले पछिल्लो समय व्याख्या गर्न सुरु गरेको चिनियाँ समाजवाद निकै राष्ट्रवादी चरित्रको छ । २०१७ मा सीले भनेका थिए, ‘अब चीनले विश्व राजनीति र अर्थतन्त्रमा आफ्नो प्राचीन विरासत जस्तै केन्द्रीय भूमिका दावी गर्नेछ ।’ अर्थात अब चीन करिब ५ हजार वर्ष पूरानो आफ्नो गौरबगाथा खोज्न थालेको छ ।
सीका तमाम योजनाहरुलाई सी विचारधारा भन्न थालिएको छ । चीनमा सी विचारधारा चिनियाँ विद्यालय र विश्व विद्यालयमा समेत पढाउन शुरु गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना ९ करोड भन्दा वढी कार्यकर्तालाई सी विचारधारा पढाउन सुरु गरेको पनि केहि वर्ष भइसकेको छ । त्यतिमात्र होइन सी विचारधारा त्यहाको कम्युनिष्ट पार्टीको स्कुल विभागले त मोवाइलमा एप नै शुरु गरेको केहि वर्ष भएको छ ।सी कै विचारमा रहेर चीनले आफ्ना नागरिकलाई नैतिकताको नयाँ निर्देशिका समेत जारी गरेको छ । नयाँ नैतिकतामा वच्चा हुर्काउने तौर तरिका, सार्वजनिक छुट्टी मनाउने तरीका र दैनिक खर्चका कुरा समेत सामेल गरिएका छन् ।
सी विचारधारामा मुख्य गरी चार कुरा समावेश गरिएका छन् ः
१ः एक देश दुई सिस्टम (हङकङ र ताइवानका लागि) हङकङ र ताइवान चीन नियन्त्रित भए पनि यी दुई देशको आफ्नो छुट्टै कानूनी र राज्य व्यवस्थाको संरचना छ ।
२ः देशमा पूर्ण र ठूला आर्थिक, सामाजिक र वैचारिक सुधारका पहलसँगै विकासशील विचार अपनाउने ।
३ः मानव र पर्यावरणबीच समाजस्यपूर्ण सम्बन्ध निर्माण गर्ने । देशको उर्जा आवश्यकता पूरा गर्न नवीकरणीय उर्जाको प्रयोगमा केन्द्रित हुने र पर्यावरण संरक्षण गर्ने ।
४. पपुल्स आर्मीमाथि कम्युनिष्ट पार्टीको पूर्ण अधिकार ।
सी विचारधारामा देशभक्ति पनि जोडिएको छ । सी भन्ने गर्छन, ‘कसैले देशभक्त नहुनु र देशलाई धोका दिनु निकै लज्जाजनक काम हो । यस्ता मान्छेका लागि चीनमा स्थान छैन ।’ सीको देशभक्तिलाई अथ्र्याउदै चिनियाँ सञ्चार माध्यम चाइना डेलीले २०१८ को डिसेम्बरमा लखेको थियो, ‘समकालीन चीनमा देशभक्तिको सार भनेको चिनियाँ कम्युनिष्ट पार्टी र समाजवादसँग प्रेमपूर्वक जोडिनु हो । चिनियाँ युवाले नयाँ युगमा अब पार्टीको कुरा सुन्नुपर्छ । पार्टीले बताएको मार्गमा चल्नुपर्छ ।’
सी चिनफिङ विचारधाराका दुई पक्ष छन् । एकातिर दुई शताब्दी योजनाले स्वयं चिनियाँ कम्युनिष्ट पार्टी, राज्य र समाजको समाजावदी दिशा निश्चित गर्छ भने अर्कातिर बिआरआईले चीनको समाजवादी अर्थ–राजनीतिक विकास र बाँकी विश्वको अर्थ–राजनीतिक सम्बन्धको व्याख्या गर्छ । त्यसमा यो आजको चीनका लागि यो सबैभन्दा महत्वपूर्ण विषय हो । बिआरआई संयुक्त राष्ट्रसंघका उद्देश्य र सिद्धान्तहरु, असंलग्न राष्ट्रहरुको आन्दोलन र त्यसका प्रस्थापनाहरु र अन्य अन्तराष्ट्रिय र क्षेत्रीय सहयोग संगठनका सकारात्मक पहलकदमीहरुको जगमा निर्मित विभिन्न राष्ट्रले साझा भविष्य खोज्न आर्थि विकासका आ–आफ्ना बाटा, बिचारधारा र अन्य सामाजिक राजनीतिक मामिलामा स्वतन्त्रता र समानताका साथ अगाडि बढ्न खोज्ने साझा मञ्च हो । ती प्रस्थापनाले गर्दा यो इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीका भिन्नतासाथ साझा भविष्य खोजी गर्ने पहलकदमी हो ।’
चीनमा रातरात धनी बन्ने होडले वढेको सामाजिक असमानताको खाडल पुर्न राष्ट्रपति सीले चिनियाँ विशेषता सहितको समाजवादी नारा अघि सारे । सीले जनवादी गणतन्त्र स्थापनाको सय वर्ष सन् २०२१ सम्ममा चीनलाई मध्यम तहको आरामदायी जीवनयापन गर्ने मुलुकका रुपमा पु¥याउने लक्ष्य लिएका थिए । सो अनुसार अहिले पुगेको पनि छ । राष्ट्रपति सी उनको नीति र समग्रमा सी विचारधारा यही मार्गनिर्देशक सिद्धान्तको जगमा अडेको छ ।
१४ वुंदे सी चिनफीङ विचारधारा निम्न अनुसार रहेका छन् ।
१.सम्पूर्ण काममा पार्टी नेतृत्वको सुनिश्चितता,
२.जनता केन्द्रित अवधारणाको निरन्तरता,
३.सुधारको समग्र गहिराइको निरन्तरता,
४.खुला, मौलिक, हरित अर्थतन्त्र र समाजवादी बितरणसहितको विकासको नयाँ अवधारणा अवलम्बन ,
५.जनताद्धारा राष्ट्र सञ्चालन,
६.कानूनी शासनमार्फत चीनको शासन,
७.समाजवादी अहम् मूल्यहरु, माक्र्सावदको प्रबद्र्धन, साम्यवादी आदर्श र चिनियाँ विशेषताहरुसहितको समाजावदको अभ्यास,
८.विकासमार्फत जीवनस्तरको बढोत्तरी र सुनिश्चितता,
९.मानव र प्रकृतिबीचको सद्भाव सुनिश्चितता,
१०.राष्ट्रिय सुरक्षाका लागि समग्र अवधारणा अवलम्बन,
११.चीनको सशस्त्र बलमाथि पार्टीको पूर्ण पकड,
१२.एक मुलुक दुई प्रणालीको अवलम्बन र राष्ट्रिय पुनः एकीकरणको प्रबद्र्धन ,
१३.मानव जातिका लागि साझा भविष्यसहितको समुदाय निर्माण प्रबद्र्धन,
१४.पार्टीमाथि पूर्ण र कठोर सुशासन ।
सीको नेतृत्व पाएर चीन अहिले महाशक्तिको रुपमा अघि वढिरहेको छ । देङ साओपिङले सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्म १.८ प्रतिशत थियो । तर अहिले आएर त्यो हिस्सा १८ प्रतिशतमा पुगेको छ । चीनको घरेलु अर्थतन्त्रमा .क्रमिक प्रक्रिया थाल्यो न कि बजारलाई आफ्नो अर्थतन्त्र सुम्पिदियो । सुधार ल्याउने क्रममा उसले कहाँ विदेशी लगानी गर्ने र कहाँ नगर्ने कुराको निक्यौल ग¥यो । सी चिनफिङले व्यापारको दायरा पुरै विश्वमा बढाएका छन् । महत्वकांक्षी ठानिएको ‘वान वेल्ट वान रोड’ परियोजना मार्फत एसिया, युरोप, अफ्रिकालाई जोडन लागिरहेका छन् । उनको नेतृत्वमा विशाल चीनले चौतर्फी रुपमा छलाङ मारेको छ । त्यसैले सी का विचारहरु त्यहाँका आम मानिसहरुले विचारधाराका रुपमा लिन थालेका छन् । जसरी माओका योगदानलाई माओवाद वा माओविचारधारा भनि सम्मान गरिन्थ्यो ।
खरेल टेपटेन खबरका प्रधान सम्पादक हुन्

