भावकेशर बराल
पुरानै वर्षको एउटा नयाँ संस्करण न हो
कुनै नयाँ घैलामा बासी पानी भरेजस्तो
अथवा पुरानै थैलामा बास्ना छरेजस्तो
समयको घडामा भरिएको समयकै पानी ।
तैपनि सपना पोको पारेर शिरानीमा
सन्त्रास गाँठो पारेर आँखामा
उभिएको छु- बारूदी सुरूङजस्तो आँगनमा
चिहाउँदै छु- बोधीवृक्षका निष्कण्टक छाया
नजिकै देखिन्छन्
खस्लान् खस्लान् जस्ता युगीन बादलका टुक्रा
र, बादलकै बर्कोभित्रबाट फैलँदै गरेका
सूर्यका रापिला किरण ।
नयाँ वर्षलाई मेरो मझेरीमा हार्दिक स्वागत !
एकाबिहानै बहिनी कोर्न लागेकी छ सपनाको मानचित्र
र, भर्न खोज्दै छे आँखाबाट निकालेर उत्साहका रङ।
नयाँ वर्षको अघिपछि लागेर
क्यालेन्डर नयाँ आएछन् घरमा
योजनाका पोका फुकेछन् रहरमा
तर, बहिनी !
घरी आकाशको सूर्य र घरी भित्ताको पात्रो हेर्छे
किलामा झुन्डिएको ऐना र मेरो आँखाको भाका हेर्छे
मानौँ मेरै आँखामा अल्झिएको छ उसको पछ्यौरी
र, छेकिएको छ ऐनाको पर्दाभित्र गुलाफी मुस्कान ।
कसरी दिनू,
बहिनीलाई नयाँ वर्षको शुभकामना !
दिन पुरानै लाग्छ
पुरानै झुल्किएको छ सूर्य
पुरानै छन्
रोग, भोक र शोकका कथा
पुरानै लाग्छ
घर, आँगन र बिहानी
हाम्रै भविष्य खोज्दाखोज्दै
भिजेका आमाका शिरानी ।
बहिनी मेरै गलामा रेट्न खोज्दै छे सारंगी
र, भर्न खोज्दै छे जीवनका नौरङ्गी धुन ।
इतिहासको ग्रहण बाँकी नै छ आँखामा
वर्तमानको बेलुन झुन्डिएको छ हावामा
भविष्यको तुसारो पोखिँदै छ क्षितिजमा
तैपनि, बहिनी मेरै आँखामा ऐना हेर्छे
आफ्नो इतिहास, वर्तमान र जीवन खोज्छे
बहिनी मेरै आँखाको नानीभित्र
आफ्ना आँखाका सपना साँच्छे र भविष्य रोज्छे
कसरी दिनू,
बहिनीलाई नयाँ वर्षको शुभकामना !

