काठमाण्डौ । क्लब विश्वकपमा इन्टर मियामीले जित हात पारेको छ । बिहिबारको खेलमा लियोनल मेसीको गोलले मियामीले जित हात पारेको हो ।
इन्टर मियामीले दुईपटकको युरोपियन च्याम्पियन पोर्टोलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको हो ।
मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेको इन्टर मियामीका लागि दोस्रो हाफको सुरुआतमै टेलास्को सेगोभियाले बराबरी गोल गरे। त्यसपछि ३७ वर्षीय अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले गोल गरेर टोलीलाई जित दिलाएका हुन् ।
इन्टर मियामी सोमबार साउथ फ्लोरिडा फर्किनेछ। हार्ड रक स्टेडियममा ब्राजिलको पाल्मेइरसविरुद्ध हुने खेलमा जित हासिल गरे अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्नेछ। बिहिबार राति भएको यही समूहको अर्को खेलमा पाल्मेइरसले अल अलीलाई २–० गोलले हराएको छ।
पोर्टोले भने अब न्यू जर्सीको मेटलाइफ स्टेडियममा इजिप्टको अल अहलीविरुद्ध समूहको अन्तिम खेल खेल्नेछ।
बिहीबार नै भएको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिकोले अमेरिकन क्लब सिट्लेलाई ३–१ गोलले हराएको छ। समूह बिमा रहेको यो टोलीको पहिलो जित हो।
यही समूहमा रहेको पीएजी र बोताफोगोबीचको खेल शुक्रबार हुने छ।

