काठमाण्डौ । आफ्नो हीरक जयन्ती मनाएको एक दिनपछि सङ्कटा क्लबले फुटबल जगतमा ठूलो हलचल मच्चाएको छ। क्लबले नेपालको यु–२० राष्ट्रिय महिला टोलीका पाँच महत्त्वपूर्ण खेलाडीलाई आफ्नो टिममा भित्र्याएको घोषणा गरेको छ। संकटामा नयाँ खेलाडीको आगमनले आगामी एन्फा महिला लिग छनोटमा सङ्कटालाई सबैभन्दा शक्तिशाली टोलीमध्ये एकका रूपमा हेरिएको छ।
चम्किँदा खेलाडी, बलियो सङ्कटा
सङ्कटाले अनुबन्ध गरेका खेलाडीहरूको सूची निकै प्रभावशाली छ। जसमा साफ यु–२० महिला फुटबल प्रतियोगितामा दुई ह्याट्रिकसहित १० गोल गरेर गोल्डेन बुट जितेकी स्ट्राइकर पूर्णिमा राई मुख्य आकर्षण हुन्। उनीसँगै भोजपुरकी अनिशा राई (राइट ब्याक), नवलपरासीकी सेनु परियार (मिडफिल्डर), नवलपरासीकै सुक्रिया मिया (मिडफिल्डर) र उदयपुरकी समीक्षा मगर (मिडफिल्डर) पनि सङ्कटाको जर्सीमा देखिनेछन्। यी सबै खेलाडीले भर्खरै बङ्गलादेशमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
यी पाँचै जनालाई महिला फुटबलको भविष्यका रूपमा हेरिएको छ। उनीहरू अहिले भुटानमा सुरु हुन लागेको एएफसी यु–२० महिला एसियन कप छनोट खेल्ने तयारीमा छन्। यसैले पनि सङ्कटाले युवा प्रतिभालाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ।
आगामी लिग छनोट र प्रतिस्पर्धा
साउन २७ गते देखि ललितपुरको एन्फा कम्प्लेक्समा सुरु हुने एन्फा महिला लिग छनोट प्रतियोगितामा जम्मा १४ वटा टोली सहभागी हुँदैछन्। यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ:
समूह ‘ए’: चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल र एफसी रिएले।
समूह ‘बी’: एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, नेपाल खेलकुद क्लब।
समूहबाट शीर्ष दुई टोलीले सिधै एन्फा राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन्। यसबाहेक, तेस्रो स्थानमा रहने टोलीहरूबीच प्लेअफ खेलाएर विजेता टोली पनि राष्ट्रिय लिगका लागि छनोट हुनेछ।
यसअघि नै नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, बागमती युवा क्लब र वालिङ नगरपालिकाले भने अघिल्लो संस्करणको सुपर लिगमा स्थान बनाएकाले स्वतः महिला राष्ट्रिय लिगमा छनोट भइसकेका छन्।

