काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। लगातार नेताहरू बाहिरिने श्रृंखलाबीच परियारको राजीनामाले रास्वपाभित्रको आन्तरिक अवस्थाबारे पुनः चर्चा चुलिएको छ।
परियारले शुक्रबार पार्टी छाडेको जानकारी दिँदै नयाँ राजनीतिक अभियान सुरू गर्ने उद्देश्यले रास्वपाबाट अलग भएको उल्लेख गर्नुभएको छ। उहाँले पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र औपचारिक रूपमा बुझाउनुभएको हो।
पूर्वसचेतक परियार रास्वपाको संगठनात्मक विस्तार र संसदीय गतिविधिमा अग्रपंक्तिमा रहने नेतामध्ये एक मानिन्थे। विघटित प्रतिनिधिसभामा उहाँले प्रमुख सचेतकको भूमिकासमेत निर्वाह गर्नुभएको थियो।
यसअघि पनि रास्वपाबाट एकपछि अर्को नेताहरू बाहिरइरहेका छन्। केही दिनअघि मात्र पार्टीकी चर्चित नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले समेत पार्टी परित्याग गर्ने निर्णय सार्वजनिक गर्नुभएको थियो। लगातार नेतृत्व तहका व्यक्तिहरू बाहिरिन थालेसँगै रास्वपाको राजनीतिक स्थायित्व तथा आन्तरिक सन्तुलनबारे प्रश्न उठ्न थालेका छन्।
परियारले पार्टी छाडेपछि आफू नयाँ बाटोमा अघि बढ्ने, नयाँ विचार र कार्यशैलीका साथ राजनीतिक यात्रा निरन्तरता दिने संकेत गर्नुभएको छ। तर, उहाँले सुरु गर्न लागेको अभियानको स्वरूपबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
रास्वपाभित्र देखिएको पछिल्लो ‘एक्जोडस’ले पार्टीको आगामी दिशा–दिशाबारे थप अनिश्चितता थपिएको विश्लेषकहरूको बुझाइ छ।

