काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता प्रयास निर्णायक चरणतर्फ अघि बढ्दै गएको छ। नेकपाको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा वार्ता “धेरै सकारात्मक मोडमा पुगेको” सहभागी नेता देव गुरुङले बताए।
वार्तामा नेकपातर्फबाट देव गुरुङ, प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र प्रकाश ज्वाला सहभागी रहेका छन्। जसपा नेपालतर्फबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायतका नेताहरू उपस्थित थिए।
१२ वाम घटकहरू मिलेर नेकपा बनेपछि अशोक राई नेतृत्वको जसपासँग जारी एकता पहललाई तीव्रता दिइएको नेकपाका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए।
वार्तामा सहभागी नेता प्रकाश ज्वालाका अनुसार सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा विस्तृत र घनिभूत छलफल भइरहेको छ। उनले चाँडै नै दुवै पार्टीबीच निष्कर्षमुखी सहमति बन्ने विश्वास व्यक्त गरे।

