काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी र देशभक्त शक्तिहरूबीच व्यापक एकताको आवश्यकता औपचारिक रूपमा औँल्याउँदै सहकार्यका लागि आह्वान गरेको छ। पार्टीले जारी गरेको अपिलमा सात दशक लामो कम्युनिस्ट आन्दोलनका उतार–चढाव, विभाजन र पुनःएकीकरणका अनुभवलाई आत्मसात गर्दै १५ वाम तथा समाजवादी समूहलाई एकताबद्ध गरी पुनर्गठित पार्टी निर्माण गरिएको उल्लेख गरिएको छ।
नेकपाले आफ्नो अपिलमा संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समाजवादी रूपान्तरणका पछिल्ला चुनौती गम्भीर बन्दै गएको बताएको छ। जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक अस्थिरता, अराजक प्रयास र प्रतिगामी शक्तिहरूको सक्रियताले जनक्रान्तिका उपलब्धिमा जोखिम बढाएको भन्दै पार्टीले संवैधानिक मार्गबाट परिवर्तन अगाडि बढाउन निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ।
पार्टीले आफ्नो रणनीतिक दिशाका रूपमा ‘नेपाली विशेषताको समाजवाद’लाई प्रस्तुत गर्दै श्रमजीवी र उत्पीडित वर्गका हित, सुशासन र समानतामूलक समाज निर्माणलाई प्राथमिकता रहेको स्पष्ट पारेको छ। नेकपाले वामपन्थी, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकीकृत गर्दै समग्र वाम ध्रुवीकरण अपरिहार्य भएको निष्कर्ष पनि निकालेको छ।
नेकपाले आफ्नो अपिलमा भनेको छ- ‘विगतका विभाजन र अस्थिरताका अनुभवलाई आत्मसात गर्दै मुलुकलाई संवैधानिक मार्गबाट रूपान्तरण गर्ने प्रक्रिया जारी राख्नुपर्नेछ। पार्टीले वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूसँग सहकार्य गरेर नयाँ अवसर र चुनौतीलाई सामना गर्दै समाजवादको दिशामा अघि बढ्ने ऐतिहासिक संकल्प गरेको छ।’
नेकपाको अपिलमा संवैधानिक प्रक्रियामार्फत सुशासन, सामाजिक न्याय र समृद्धि कायम राख्ने उद्देश्यसहित सबै वाम, समाजवादी र देशभक्त समूहहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

