काठमाण्डौ । माथागढी गाउँपालिका(१ चिदिपानीस्थित दमारका १८ वर्षीय रनवीर नेपालीको हत्याका अभियुक्त पक्राउ परेका छन्। हत्या अभियोगमा सोही ठाउँका ५७ वर्षीय सन्तबहादुर सार्की पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।
२०६८ साल कात्तिक ११ गते राति साढे ११ बजे नेपालीको हत्या गरेर सन्तबहादुर सार्की फरार भएको उनले बताए। उनीहरू बीच घरायसी विवाद थियो। चक्कु प्रहार गरेर गम्भीर घाइते भएका रनवीरको उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको थियो।
आरोपित सार्कीलाई रूपन्देहीको सिद्धार्थ नगरपालिका १ बेलहियास्थित बसपार्कबाट आइतबार दिउँसो पक्राउ गरिएको हो।
नेपाल प्रहरीले निरन्तरको निगरानीपछि उनलाई पक्राउ गर्न सफल भएको हो । भारतको दिल्लीमा लुकिछिपी बस्दै आएका उनी १४ वर्षपछि नेपाल फर्किएको समयमा विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो प्रहरी उपरीक्षक भट्टराईले भने। कान्छी श्रीमती र छोराछोरी सहित सबै परिवार भारतको दिल्ली र हरियाणा लुकेर बस्दै आएको बुझिएको छ।
सार्की विरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

