काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसद्प्रति जिम्मेवार नभएको बताएका छन्। प्रतिनिधिसभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले संसदमा विनियोजनमाथि छलफल चलिरहेको बेला मन्त्रीहरू उपस्थित नभएकोतर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् । नेता भट्टराईले एकैपटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसद्प्रतिको गैरजिम्मवारी भएको तर्क गरे।
उनले संसद्मा विनियोजन शीर्षकमाथिको छलफल भइरहेका वेला त्योभन्दा महत्त्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गरे। संविधानले प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बनाउने र मन्त्रीहरूलाई प्रधानमन्त्री र संसद्प्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मन्त्रीहरूको आलोचना गरे ।
भट्टराईले भने, ‘विनियोजन शीर्षकमाथिको छलफल भइरहेका वेला मन्त्रीहरू यहाँ नआएर अन्तै जानुपर्ने के पर्यो? यो निकै गम्भीर प्रश्न हो। संविधानले प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही भन्छ। मन्त्रीहरूलाई प्रधानमन्त्री र संसद्प्रति जवाफदेही भन्छ। जब हामी संसद्मा उपस्थित भएर गम्भीरताका साथ भाग लिँदैनौँ, आफूले प्रस्तुत गरेका विधेयकहरूमा गम्भीरताका साथ अन्यत्र भाग लिँदैनौँ भने गर्छौं के ? विधायिकी काममा भाग लिँदैनौँ भने गर्छौं के ?’

