प्रिय जेन्जी बाबुनानीहरू,
आज शिवपुरीको यो एकान्त सुरक्षा घेरा भित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन् । जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन् । तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ । मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ ।
सायद तिमीहरूलाई थांहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् । तर पनि, ‘बा’ बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन। जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन् । त्यो पीडाको घाउ आज पनि आलै छ । तैपनि, मैले सधैँ समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ । तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन । म सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु ।
त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन । तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ । देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्। यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ । यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौँ, त्यो बेला हामी बोल्न पाउँदैनथियौँ, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैनथियो । अन्धकारमय त्यो अवस्थासँग लडेर, संघर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौँ । आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो । आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरुरी छ ।
नानीबाबुहरू,
स्वभावले म अलि जिद्दी छु । यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला । हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ । लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ । शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ । यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ । लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ (UN) मा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो । तर, मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु। मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन ।
पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन । मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो । यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो । व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु ।
तिमीहरूको
केपी शर्मा ओली, शिवपुरी ।

