संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको अध्यक्ष पदमा नेता केपी शर्मा ओली निर्वाचित भएका छन्।
चितवनको सौराहामा जारी दशौँ महाधिवेशनमा भएको निर्वाचनमा भीम रावललाई निकै पछाडि पार्दै ओली पाँच वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
मङ्गलवार बिहान विद्युतीय उपकरण प्रयोग गरेर निर्वाचन सम्पन्न भएको थियो।
महाधिवेशनका लागि छानिएका कुल २,१५३ प्रतिनिधिमध्ये २,०९६ जनाले मतदान गरेका थिए।
खसेको मतमध्ये ओलीले १,८३७ ल्याएकाले उनी विजयी भएका हुन्। रावलको पक्षमा २२३ मत खसेको छ।
उपाध्यक्ष पदमा के भयो?
महाधिवेशनमा ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका छ जनाबाहेक घनश्याम भुसालको पनि उम्मेदवारी परेकाले उक्त पदका लागि पनि निर्वाचन भएको थियो।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १,९७६ मत ल्याएकी छन्।
त्यस्तै नेता सुरेन्द्र पाण्डेले १,९२५, सुवास नेम्वाङले १,८६५, विष्णु पौडेलले १,८५६, युवराज ज्ञवालीले १,८४२ अनि रामबहादुर थापाले १,७६८ मत प्राप्त गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीमा माओवादी पृष्ठभूमिका नेता थापा पार्टी विभाजन हुँदा एमालेतिर लागेका थिए।
पराजित भएका भुसालले भने ७२५ मत प्राप्त गरेका छन्।
सचिवमा को को विजयी भए?
त्यस्तै एमालेको सचिव पदमा गोकर्ण विष्टले सबैभन्दा बढी १,९७४ मत प्राप्त गरेका छन्।
विजयी हुने नेताहरूमा योगेश भट्टराई (१,९६० मत), पद्मा अर्याल (१,७९९ मत), छविलाल विश्वकर्मा (१,८०३ मत), लेखराज भट्ट (१,७०४ मत), टोप बहादुर रायमाझी (१,८०४ मत) र रघुवीर महासेठले (१,५०० मत) ल्याएका छन्।
७८८ मत ल्याएका भीम आचार्य र ५५९ मत प्राप्त गरेका टङ्क कार्की पराजित भएका छन्।
को-को सर्वसहमतिबाट निर्वाचित भए?
सर्वसम्मतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास विफल भएसँगै मङ्गलवार बिहान विभिन्न पदका लागि मतदान भएको थियो।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका लागि मतदान भएको हो।
यसअघि सोमवार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा नेता प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ अनि विष्णु रिमाल सर्वसम्मत निर्वाचित भएका थिए।

