काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्याय सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ।
सिंहदरबारबाट बिहिबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ढिलासुस्ती, भ्रष्टाचार वा झन्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र तीनै तहका सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को व्यवस्था गरिएको जानकारी दिनुभयो।
प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी विषयलाई जननिर्वाचित संसद्मार्फत मात्र परिमार्जन, संशोधन वा पुनर्लेखन गरि समस्याको समाधान गर्नुपर्ने बताउँदै, जेनजी समूहको आन्दोलनको मर्मअनुसार सरकार सञ्चालन भइरहेको उल्लेख गर्नुभयो।
उहाँले स्रोत सुनिश्चित नभएका र टुक्रे आयोजनाका बजेट खारेज गरिएको, क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गरिएको पनि जानकारी दिनुभयो।
राष्ट्रसेवक कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मनोबल गिराउने कार्य नगरी रुपान्तरण भएर सेवाप्रवाह गर्न आह्वान गर्नुभयो।

