काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धामार्फत महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेकी प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग निगममा महाप्रबन्धक नियुक्तिसम्बन्धी हालसम्मको प्रगतिबारे जानकारी लिँदै सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा छनोट समिति गठन गरेकी थिइन्। उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव रहेका छन्।
सचिव मैनालीका अनुसार समितिले कार्यविधि तयार गर्ने काम अघि बढाइसकेको र केही समयका लागि बाहिर भ्रमणमा जानुपरेकाले प्रक्रिया केही ढिलो भएको जानकारी प्रधानमन्त्रीलाई दिएको सचिवालयले जनाएको छ।

