काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्।
कोरियाको विज्ञान तथा आइसिटी मन्त्रालय (एमएसआइटी) र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)को संयुक्त आयोजनामा हुने उक्त फोरम यही कात्तिक २६ गतेदेखि सुरु हुँदैछ। मन्त्री खरेलसँग स्वकीय सचिव उद्धव भट्टराई पनि सहभागी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव राधिका अर्यालसहितका अधिकारीहरूले मन्त्री खरेललाई बिदाइ गरेका थिए।
फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजी र चुनौती’ तथा ‘दिगो डिजिटल भविष्यका लागि विश्वव्यापी सहकार्य’ शीर्षकका दुई सत्रहरू सञ्चालन हुने छन्।

‘एसडीजी हासिल गर्ने र दिगो भविष्य निर्माण गर्ने’ विषयमा हुने छलफलमा नेपाल, भुटान, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओस, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उज्बेकिस्तानका मन्त्रीहरू तथा वरिष्ठ नीति निर्माता सहभागी हुने जनाइएको छ।
फोरममा एसिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोग (ESCAP) र अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।
मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

