काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।
निर्वाचन आयोगका अनुसार देशभर १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा तडकभडक नगर्न, शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। भीडभाड कम गरी उम्मेदवारी दर्ता सहज बनाउन प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि दर्ताको समयसमेत तोकिएको आयोगले जनाएको छ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सदस्य समानुपातिक प्रणालीबाट र १६५ सदस्य प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको आयोगले जनाएको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया समेत सुरु भइसकेको छ। भोलि बुधबारसम्म निर्वाचन प्रहरीको भर्ना छनौट भैसक्ने निर्वाचन आयोगले जनाएको छ ।
अधिकांश राजनीतिक दलले उम्मेदवार समेत छनोट गरिसकेका छन्। नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको जनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ। एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन्।
आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ। उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सासहित आवश्यक कागजात अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ।
आयोगले सबै तयारी पूरा भएको जनाउँदै आज उत्साहपूर्ण रूपमा देशभर उम्मेदवार मनोनयन कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा भएको प्रतिनिधिसभा भदौको आन्दोलनपछि विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।
फागुन २१ मा हुने निर्वाचनका लागि ११४ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

