काठमाडौँ, पुस २ गते । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।
‘नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ’, रिजालले प्रधानमन्त्री प्रधानमन्त्री देउवालाई बुझाइएको राजीनामा पत्रमा लेखेका छन्, ‘यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षामन्त्री पदबाट राजीनामा दिएको छु ।’ रिजालले मन्त्रीको जिम्मेवारीमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिएको भन्दै धन्यवाद दिनएका छन् ।

चुनावी मैदानमा रहेका मन्त्री रिजालले प्रारम्भिक मतपरिणामलाई दृष्टिगत गर्दै राजीनामाको घोषणा गरेका थिए ।
काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए लगत्तै महामन्त्रीका प्रत्याशी रक्षामन्त्री रिजालको राजीनामा आएको हो । उनले कसैको दबाब नभएर नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।


