–स्वयम्भू शाक्य
आज सिद्धिचरण श्रेष्ठ कालकोठरीमा बसेर हाम्रो देशमा प्रजातन्त्र कहिले आउला भनेर दिन गन्दैछन् । निरंकुश शासकहरूको बिरुद्ध जनताहरू जुरुमुराएर होला ठाउँ ठाउँमा आगो बालेर प्रजातन्त्रको माग गर्दैछन् । शासकहरू शहिदको रगत पिई मासु चपाउँदै जनताहरूलाई तर्साएर मदिराको सुरमा नाचगान गर्दैछन् । स्थिति भयावह छ । सूर्यले आँसु बगाउँदै चन्द्रलाई भोलि नआउने हो कि भनी गुनासो पोख्दैछ । आखीर समयको बन्धन न हो । निश्चित अवधिभित्र उदय हुनु छ । प्रातःकालदेखि सन्ध्या भएर डुब्नु छ । यमसँग शनिश्चरको दशा लागेर शनिसँगै मृत्यु हुनु छ । यो अँध्यारो र साँघुरो झ्यालखानाभित्र देशद्रोहीको ठूलो अपराधमा विरोध गरी चिच्याउने र कराउनेहरूलाई कालपाश जस्तै यमराजको पासोले बाँधेर कालरात्रि मनाउन खोज्दैछ । कालचक्रसँगै कालगति परिवर्तन होला भनी नेपाली जनतालाई यस्तो अपराध गरे मृत्युदण्ड हुनेछ भनेर तर्साउन खोज्दैछ । तर समय न हो । समय बलवान हुँदोरहेछ । समयभित्र हिँड्न नजान्नेहरूलाई समयले पाखा लगाएर अगाडि बढ्दो रहेछ ।
यो कुरो सत्य हो । इतिहासको कालखण्डलाई केलाएर हेर्दा समयको अगाडि न कोही ठूलो छ न कोही सानो हुँदोरहेछ । न राम्रो छ न नराम्रो हुँदोरहेछ । त्यसैले कोही शासक र जनता भनी भेदभाव नगर्दो रहेछ । यो भवसागरमा एक दिन चन्द्र र सूर्य पनि बिलाउनु पर्ने बाध्यता छ । कालज्ञानको अभावमा म नै सर्वश्रेष्ठ हुँ भनी घमण्ड गर्ने गरिन्छ । दुःखका कारकहरू हामी आफैले नै सृजित नगरी पानी जस्तो बग्नेमात्र होइन कुण्ड कुण्डमा पनि अटाएर बस्न सक्नुपर्ने रहेछ ।
आखीर मौका न हो । मौकामा काम गर्न सजिलो हुन्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठ कालकोठरीमा बसेर फ्याँकेको दाउ पनि यो धरतीमा पीडादायी हुँदोरहेछ भनी गुनासो पोख्दैछन् । किनकि अँध्यारो कालकोठरीमा हातखुट्टामा नेल र सिक्री लगाएर राखेपछि जतिसुकै दाउ फाले पनि फल्नुको अर्थ के हुन सक्छ र ? मौका कुरे सत्यको जीत हुन्छ भन्नु बाहेक मनले अरु के कुरा गर्न सकिन्छ र ? त्यसैले यो जगतमा बाँच्नु नै दुःखदायी छ । चाहेर नचाहेर, जानेर नजानेर पीडा भोग्नु पर्दोरहेछ । बलियाले निर्धालाई निल्नु जङ्गलभित्रको नियम हो । तिमी र म बाँच्नु पर्छ भन्ने भावना मत्स्य न्यायमा काहाँँ हुन्छ र ? यो धरतीमा दाउ मात्र खोजेर होइन आत्मा दृढ पारेर देशभक्तीको मायाले आफ्नो लक्ष्यबाट बिचलित नहुनुपर्ने रहेछ । आखीर सत्य न हो । सत्यभित्र मृत्यु पनि पर्दोरहेछ । मृत्युको पर्खाललाई हाम फालेर अहिलेसम्म कोही प्राणीहरू बाँच्न सकेको इतिहास छैन । त्यसैले मृत्युको आफ्नै सीमाना रहेछ । त्यो सीमाना भित्र प्राणीहरू बाँच्नु पर्दोरहेछ । जब समयको घडीले सीमानामा पु¥याइन्छ तब प्राणीहरू जान्न भनी कहाँ सुख पाइन्छ र ? बाध्य भई चुम्बकले ताने जस्तै धनघटामा सबै हराएर जाँदोरहेछ ।
हो, जीवन सुख र दुःख मात्र होइन अन्तिम समयमा सुत्नका लागि चिरनिद्रा पनि चाहिँदो रहेछ । नदीको किनारामा गंगालाई साक्षी राखेर आफुले आगोमा समाहित भई खरानी बनेर माटोमा मिल्नका लागि समयले हामीलाई पर्खी रहेको हुन्छ । समयले ढुङ्गालाई पगाल्न सक्छ । मान्छेको इच्छा हुनु र नहुनुमा होइन समयले बोलाए पछि के के हुँदोरहेछ । यो भवसागरमा सुख र दुःखका दागहरू धुनका लागि सागरमा गई पखाल्न सकिन्छ । यो त आ–आफ्नो कुरो हो । कोही सुखलाई छोडेर मान्छे सन्यासी बनेर हिँडिरहन्छ । कोही दुःखलाई पखालेर सुखको खोजीमा जान थाल्छ । त्यसैले यो सुख र दुःखको जीवनमा दिन र रात जस्तै आ–आफ्नो महत्व छ । आ–आफ्नै अस्तित्व छ । एक अर्काको पुरक बनेर जीवन भित्र बाँच्न खोज्छ । त्यसैले यो दुःखदायी जेलभित्रको जीवन यात्रामा दुःख पाउँदैमा म किन दुःख मानौं ? प्रजातन्त्र पाउनका लागि यो जेल जीवन वैना बन्छ भने मेले आज किन दुःख नखोजौं ? सुख त के छ र त्यो त क्षणिक हो । मलाई क्षणिक सुख र शान्ति पाउनु छैन । मैले आफुले मात्र सुखमा बसी अरुको दुःख हेर्नु छैन । मैले आफुले मात्र खाएर अरु भोकै रहुन् भन्न सक्दिन । त्यसैले यो सुख र दुःखको भयबाट टाढा भएर होला मलाई आज न सुख छ न दुःख छ । सुख र दुःखबाट टाढा भएर युगकवि सिद्धिचरण श्रेष्ठ आफुले कालकोठरीमा बसेर पनि मनका भावहरू यसरी पोख्न खोज्छन् ।
फ्याँकेकै दाउ पनि दुःख यो जगतीमा
जान्न भने पनि नहुने मृत्यु छ सिमाना
छ भने यो सागर नै सुख दुःख धुनलाई
सुख दुःखसित भय मानी किन बस्नु मलाई ।
वारी र पारी बीचमा नदी भएर होला किनार छिया छिया छ । संगिनीको मृदु मुस्कान अनि आलिङ्गनले यो कोमल हृदय कसैको बहुपाशाले बेर्दैछ । माया ममताले हुर्केको यो जीवनमा न धेरै घामको चाहना छ, न धेरै छायाँको माया छ । बगेको पानी जस्तो संग्लो भएर होला कोही कसैले धमिलो बनाउँन खोज्दैछ । त्यसैले प्रातः ढल्केर साँझ भए जस्तै साँझ ढल्केर प्रातः भए जस्तै यो दुई दिने दिन र रातको यात्रामा आँगनमा बसेर सुख र दुःखलाई सन्तापको आगो तापेर युगकवि सिद्धिचरण श्रेष्ठ वारीको जीवनलाई चिहाउदैछन् । हो पारी आफ्नै पुरानो चिरकालदेखि भोग्दै आएको व्यथाले होला यो मन चिन्तित भएर भित्र भित्रै चिन्ताको आगोले जल्दैछ । यो शरीर भित्र बलेको आगोले आज कता कता रोगले ग्रसित भएर मकिएको काठ जस्तो खोक्रो भएर आज र भोलि काललाई कुरेर बस्दैछ । मरणका लागि त्यो अन्तिम समय कुर्नु बाहेक अरु के बिकल्प हुन सक्छ र ? नानाभाती रोग लागे पछि यो शरीर भित्र अश्वमेघ गर्दैमा के फाइदा हुन्छ र ? अश्वरोही अश्वबाट खसे पछि निराश बन्नु बाहेक अब के गर्न सकिन्छ र ? त्यसैले यो जन्म र मरणको जीवनमा अलिकता माया छ । अलिकता चिन्ता छ । अलिकता दया छ । अलिकता जीउनका लागि सास छ । बाँकी लाश न हो । मरेपछि नदीको किनारमा बसेर रुनु बाहेक अरु के पो गर्न सक्छ र ? आगो–आगोसँग खेलेर, धुँवा–धुँवासँग मिलेर, खरानी–खरानी भएर पानीमा बग्नु बाहेक अरु के पो हुन सक्छ र ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठ सुख र दुःखबाट टाढा भएर दुःखका दागहरू धुन सागरमा जान सकिन्छ भनी सल्लाह दिन खोज्दैछ । वारी र पारी आ–आफ्नै सीमानामा बसी सीमा पारीको कथा आज हामीलाई सुनाउन खोज्दैछ ।
वारि यता सँगिनी मृदु तिम्रो आलिङ्गन
सुख दुःखसित खेल्ने यो विस्मृत प्रिय प्राङ्गण
पारि उता मेरै चिर चिन्तित भव्य भावन
रोग जरा अश्व लिई छ खडा हेर मरण ।
मान्छेको जीवनमा सुख र दुःख दुबैले आत्मसाथ गर्न सक्नु पर्दछ । सुख मात्र होइन दुःखलाई पनि प्रिय ठान्नु आवश्यक छ । किनकि दुःखले सुखलाई बोलाउने गरिन्छ । आज युगकवि सिद्धिचरण श्रेष्ठ कालकोठरीमा बसेर पनि उसलाई प्रजातन्त्रको पीर छ । आफुलाई दुःखै दुःख किन नहोस् भोलि सुखको अनुभूति पाउन आफ्नो सँगिनीलाई मन नरोइकन बस्नका लागि अनुरोध गरिन्छ । किनकि मन रुनु आत्मा कमजोर बनाउनु हो । आत्मा कमजोरीले यो शरीरलाई क्षीण बनाउँने छ । त्यसैले हामीले राम्रो नराम्रो, मीठो नमीठो भनी भेदभाव गर्नु हुँदैन । यो त प्रकृतिको देन हो । जहाँ राम्रो पनि हुनुपर्छ । जहाँ मीठो छ त्यहाँ नमीठो पनि खानु पर्छ । अतः यो सुख र दुःखको जीवनमा सधै सुखै सुख मात्र कहाँ पाउन सकिन्छ र ? सधै दुःखै दुःख मात्र कहाँ हुन सक्छ र ? त्यसैले दुःखलाई पनि आत्मसाथ गर्नु पर्छ । यो त प्रकृतिको नियम हो । होइन भने दुःखले हामीलाई सराप्ने छ त्यो नै जीवनको कष्टदायी समय हुनेछ ।
आज गर्मी छ । भोलिपुस र माघमा चिसो हुनेछ । मलाई चिसोयाम होइन गर्मी मात्र चाहिन्छ भनी कहाँ भन्न सकिन्छ र ? यो त समिश्रणको यात्रा हो । जे जस्तो छ अधिदेखि चलिआएको रीतिथितिलाई आत्मसाथ गरेर हामीले मोक्ष पाउनु छ । बन्धनलाई तोडेर खुल्ला आकाशमा स्वतन्त्रतापूर्वक जीवन बिताउनु छ । त्यसैले निर्माण गर्न नयाँ जग राखेपछि निष्ठुरितापूर्वक त्यो जगलाई भत्काउनु अपराध हो । ईटामाथि ईटा थपी सकेपछि त्यो गारो भत्काउनु बेइमानी हो । एउटा कालखण्डले अर्को कालखण्डलाई बोलाई सकेपछि नयाँ युगको शुरुवाटसँगै मनभित्र दृढ संकल्प लिई हिँड्नु राम्रो हो । पहाड जस्तो अचल र अडिग बनेर आफ्नै सिद्दान्तबाट बिचलित नहुनु धर्म हो । त्यसैले दृढ प्रतिज्ञा गर्दै त्यो निष्ठुरी पापी हृदयलाई आँधीबेरीले उडाई दिनुपर्छ । केही पाउन केही गुमाउनु पर्छ । शून्यबाट शुरु भएको यो जीवनमा शून्यमा नै हराउनु प्रकृतिको नियम रहेछ । मात्र अलिकता प्रतिज्ञाको आवश्यकता छ । मात्र अलिकता दृढताको खाँचो छ । बाँकी युगकवि सिद्धिचरण श्रेष्ठले कालकोठरीबाट यस्तै यस्तै मनका भावहरू व्यक्त गर्दैछ ।
दुःख पनि प्रिय मेरो सुख पनि प्रिय है संगिनी
जस्तो जे बन्दछ थिति लिन्छु म माथ धरी
निर्माण भएको नाश गरी निष्ठुरता
लिन हुन्न भने मनभित्र छ दृढ दृढता ।
आज सिद्धिचरण श्रेष्ठले आफ्नो कायाको प्यालालाई जीवनको मदिरा सम्झेर यो मायाको मन्दिरमा देवी चित्तहरालाई सम्झन पुग्दछ । त्यसैले होला यो देहलाई कायाकल्पमा परिणत गर्न प्यालालाई उपभोग गरी प्यास लागेको बेला धित लाग्दो गरी तिर्खा मेटाउन खोज्दैछ । यो शरीरलाई प्याला सम्झेर जीवनको मदिराभित्र नशालु पदार्थ पिएर तिर्खालु बन्दैछ । प्रेम, माया र स्नेहमा मान्छे बाँच्न सजिलो हुने भएकोले यसलाई ईश्वरको वरदानको रूपमा लिदैछ । मन्दिर जस्तो शुद्ध र पवित्र भएर सबैको आत्माले शान्ति पाउन यो आत्मालाई खिच्ने मनमोहक देवीको आराधना गर्दैछ । त्यसैले मायाभित्र आत्मा लुकेको हुन्छ । आत्मा शुद्ध छ । पवित्र मन्दिर जस्तो निश्चिंल छ । मन मस्तिष्कमा शान्त छ, न लोभ छ न लाभ छ । म–म भित्र हराएर हामीहरूको बस्ती छ । चित्ताकर्षक भएर मनलाई सुगन्ध पार्दैछ । आत्माले खोजेको, आत्माले बोलेको, आत्मामा चित्तहरा भई देवीको दर्शन पाएकोमा कविवर मुग्ध कण्ठले गीत गाउँदैछन् । आज सुख नपाएर के भो ? भोलि त अवश्य पाउने छ । आज दुःख पाएर के भो ? भोलि त सुख पाउने छ । त्यसैले यो दुःखदायी कुराहरूलाई सम्झेर भोलि होइन आजै शोक र सन्ताप पाउनका लागि थुप्रै अपसोचहरू अनि थुप्रै खेद जनक कुराहरू इन्द्रजालले ताने झैं सबैको आँखामा छारो हाले झैं चोप्दा चोप्दै आजै मसी सके झैं विस्मृतिका पर्दा उघार्नु भन्दा अगाडि त्यो लाल गुलाबी रङ्ग हामीहरूको गालामा पोती सुखका क्षणलाई सम्झिन पुग्दैछन् । यो कुरो सत्य हो । दुःखमा हुर्केर पनि गुलाफको आफ्नै पहिचान छ । अत्तर र सुगन्ध छर्दै काँडाबीचमा पनि बाँच्दैछन् । आ–आफ्नो स्वभावमा अनि आ–आफ्नै रङ्गमा विस्मृतिलाई भूलेर नयाँ उमंगले जीउने बाटो देखाउँदैछन् ।
माया ईश्वरको रूप हो ।यो रूप मन्दिरमा मात्र बास हुन सक्छ । जहाँ सत्य छ त्यहाँ यथार्थताको जीउँदो स्वरूप पाउन सक्छौं । मन लोभ्याउने, अंकुशले तानेर मन मुग्ध पार्ने, आकर्षणको केन्द्रविन्दु जस्तो के हो के हो ? कायाकै प्यालामा सबै कुरा हुँदोरहेछ ।
कायाको प्यालामा जीवनको मदिरा
मायाको मन्दिरमा देवी चित्तहरा
विस्मृतिको पर्दाले लौ चोप्न अगाडि
गालामा थपिद्यौ क्यै रङ्ग लाल गुलाबी ।
जसले जे सुकै भनोस् । मेरो काममा म दृढ संकल्प छु । आज दीन दुःखीहरूलाई सुख दिनका लागि, बाटो हिँड्दा अँध्यारो भएकोले बत्ती बाल्नका लागि, बोल्नै नहुने यो रितीस्थिति होइन भन्नाका लागि, दमनमा सधैं मान्छेहरू बस्न सक्दैनन् भन्नाका लागि, समानताको अधिकार पाउनका लागि, मान्छे–मान्छे हुनका लागि यौटा क्रान्तिको आवश्यकता छ । यौटा विशाल जनप्रदर्शनको आवश्यकता छ । ठूलो खाल्डो पुर्नका लागि सबैले एक मुठ्ठी माटो हाल्नु छ । आज, भोलि र पर्सी अवश्य पुर्ने छ । एकचित्त भएर स्वमनले काम गरे हामीले खोजेको कुरा पाउन के ठूलो कुरो हो? त्यसैले म त डराउँदिन । मैले जे गरे यो कालकोठरीमा बसेर पनि विस्मृतिका पानाहरू हटाउन खोजे । कोही भ्रममा छ भने जीवनमा यथार्थ कुरा बोल्न खोजे । कालसर्प, जतिसुकै डर लाग्दो भए पनि अरुलाई हानी नपु¥याओस् भन्नका लागि चेतनाका विगुलहरू फुक्न थाले । दानवहरू मानव बस्तीमा बस्न मिल्दैन भनी आगो बालेर धपाउँन थाले । त्यसैले मैले के गरेँ ? धर्मकाँटामा बसेर न्याय र अन्याय जोखिन थाले । धेरै र थोरैलाई छुट्याउन प्रयास गरें । सत्य र असत्यलाई हेर्ने आँखा दिएँ । मृत्युसँग पनि नडराईकन बाँच्न सिकाएँ । त्यसैले यहाँ मैले जे गरें पनि उता यमराजले के गर्ला हेर्नु बाँकी छ । जीवन र मृत्युलोकका लागि के भन्ला सुन्नु बाँकी छ । हे यमराज म मृत्युलाई कुल्चेर हिँड्ने मान्छे, म यमराजको न्यायमा पनि प्रश्न उठाउँने मान्छे, मलाई त के छ र । म आगो पिएर बाँच्न सक्ने मान्छे, मलाई न डर छ न त्रास छ । जन्म र मरणको कुनै भय छ । त्यसैले सुख र दुःख त मेरो कर्मको फल हो । यो कर्मको फलमा मनमा हतास मानेर कतै त्रासले मात्र बाँच्नुको अर्थ सखी के हुन्छ र ? आखीर सुख र दुःखले मात्र सखी यो जीवनमा के गर्न सकिन्छ र ? यो भवसागरको बन्धनमा हामीलाई बाँधिएर होला हामीले कहाँ मुक्ती पाउन सक्छौ ? हामी कहिले स्वतन्त्र हुन सक्छौ ? खुला आकाशमा फुक्का भएर कहिले हामी उड्न सक्छौ ? डर त्रासमा बाँचिरहेको यो जीवनमा हामीले कहिलेदेखि मनमा भयरहित भएर बाँच्न सक्छौं ? मानवहरूको बस्तीमा दानवहरूलाई हामी किन थपाउन ढिलो ग¥यौं ? त्यसैले हे सखी यो त यौटा जीवनचक्र हो । यो जीवनचक्रभित्र मान्छे स्वतन्त्र भएर जिउन चाहन्छ । मान्छे–मान्छे भएर बाँच्न खोज्छ ।
भनिन्छ, प्रेम, माया र स्नेहले प्राणै मागे पनि दिल खोलेर दिने गरिन्छ । कालकोठरीमा बसेर पनि यौटा मान्छे महलमा बसे जस्तो अनुभूति गर्न सक्छ । हात खुट्टामा नेल र सिक्री लाएर पनि आभूषणले सजाए जस्तो भान हुन्छ । त्यसैले सखी तिमी चिन्ता नमानी बस् मैले ढिलै भए पनितेल पैंचो मागेर यौटा बत्ती बाल्नु छ । तिमी निश्चित भएर घरमा बसिराख्नु म कालकोठरीबाट स्वतन्त्र भएर घरमा फर्किने छु । तिमीले खोजेको हामीले चाहेको यौटा खुल्ला आकाशमा पंन्क्षी झैं तिमी र म उड्ने छौं ।
उसतिर यमराजले के गर्ला हेरौं
कुन संसृतिफन्दामा जा भन्ला हेरौं
फल सबका सुख–दुःख हुन् के को त्रास सखी
बद्ध छ को, मुक्त छ को, यौटै हाल सखी ।
कालो र अध्यारो डरलाग्दो हुन्छ । आँखा भएर पनि यो आँखाले केहि दख्न सक्दैन । यो त हिंस्रकहरूलाई रमाउने ठाउँ हो । रगत पिएर बाँच्नेहरूको मार्ग हो । न्याय र अन्याय छुट्याउन नसक्नेहरूको विवेक हो । त्यसैले अध्यारोलाई उज्यालो मन पर्दैन । उज्यालो स्वतन्त्रताको प्रतिक हो । घाम जस्तै समानता र आस्थाको न्याय हो । आत्माको बास हो ।समग्रमा उज्यालोमा बाँच्न चाहनेहरूको लागि प्रजातन्त्र हो । आज कविवर कालकोठरीमा बसेर उज्यालोको लागि देशवासीहरूसँग भिख माग्दैछन् । अध्यारोलाई उज्यालोले पोत्न सूर्यको किरण खोजी खोजी हिँड्दै छ । यो शरीर त के भो ? जतिसुकै यातना सहेर पनि यो आत्मालाई त पीडा नहुने रहेछ । पीडा त यो रगत र मासुको शरीरलाई हुने हो । रगत चुहिन सक्छ । मासु टुक्रा टुक्रा हुन सक्छ । तर यो आत्मामा न त रगत चुहिन सक्छ न त मासु काटेर टुक्रा टुक्रा पार्न सकिन्छ ? त्यसैले आत्मा अमर र अजर छ । आत्मालाई कसैले मार्न सक्दैन । आत्मा त उडेर क्षितिज भन्दा पर गएर बस्न सक्छ । हो, बाँचुन्जेल यो देहलाई सुख र दुःख हुँदोरहेछ । मरे पछि के छ र ? न सुख छ न दुःख छ । त्यसैले बाँचुन्जेल सुख र दुःखको भयबाट टाढा भएर यौटा मान्छे बन्नको लागि कालकोठरीबाट प्रजातन्त्र खोजिरहेछ । अध्यारोमा देख्नै नसक्ने आँखाले उज्यालोलाई बोलाई रहेछ । उज्यालो खोजिरहेछ । अस्तु ।

